जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी लगानी सम्मेलनलाई लक्षित गर्दै तयारीलाई तीव्र पारेको छ । यही सन्दर्भमा बिहीबार जनकपुरधाममा विशेष छलफल सम्पन्न भएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा, नीति आयोगका सदस्य राजकुमार सिंह, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार अशोक बैधलगायतको उपस्थितिमा सम्मेलनका प्रारम्भिक कार्यसूची तथा तयारीबारे विस्तृत छलफल गरिएको हो ।
मुख्यमन्त्रीका आर्थिक सल्लाहकार बैधका अनुसार सम्मेलनको मुख्य उद्देश्य प्रदेशका धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र प्राकृतिक स्रोतहरूको परिचय गराउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्नु, सहकार्य र साझेदारीमार्फत विकासलाई अघि बढाउनु, रोजगारी सिर्जना गर्नु र मधेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी गन्तव्यको रूपमा स्थापित गर्नु रहेको छ ।
सम्मेलनमार्फत कृषि, उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रका लगानी अवसरहरू प्रस्तुत गरिने तयारी छ । यसले प्रदेशमा आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्दै स्थानीय युवाहरूका लागि रोजगारी सिर्जना गर्ने, धार्मिक–सांस्कृतिक सम्पदा संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने, कृषि तथा उद्योगमा उत्पादकत्व वृद्धि गर्ने र आर्थिक आत्मनिर्भरता मजबुत पार्ने अपेक्षा गरिएको छ ।
प्रदेश सरकारका अनुसार लगानी सम्मेलन मधेश प्रदेशको दीगो आर्थिक विकास, सामाजिक समृद्धि र सांस्कृतिक संरक्षणका लागि महत्वपूर्ण अवसर बन्नेछ । यसका लागि प्रदेश सरकार, निजी क्षेत्र, संघीय सरकार तथा अन्तर्राष्ट्रिय विकास साझेदारबीच सहकार्यमा कार्यक्रमलाई सफल बनाउन तयारी भइरहेको छ ।