राष्ट्रिय सभामा बदलियो अंकगणित, दुई तिहाइ नजिक कांग्रेस-एमाले

hitkhabar.com


काठमाडौं । राष्ट्रिय सभामा दलहरूको अंकगणित बदलिएको छ । आइतबार भएको राष्ट्रिय सभाको निर्वाचनको परिणामले दलहरूको समीकरण बदलेको हो । निर्वाचनपछि राष्ट्रिय सभामा दलीय समीकरण बदलिएको मात्रै छैन । नेपाली कांग्रेस र नेकपा एमाले दुई तिहाइ नजिक छन् । जसले प्रतिनिधि सभाको महत्वपूर्ण निर्णय अगाडि बढाउने सन्दर्भमा राष्ट्रिय सभामा ठुलो अर्थ राख्नेछ । विधेयक पास गर्न बहुमत चाहिन्छ । संविधान संशोधनलगायतका एजेन्डा अगाडि बढाउन दुई तिहाइ सांसद्को संख्याको समर्थन चाहिन्छ ।

राष्ट्रिय सभामा हाल कांग्रेसका १६ जना सांसद रहेका छन् । यीमध्ये कोही पनि आगामी फागुन २० मा बिदा हुने छैनन् । बरु आइतबारको निर्वाचनबाट नौ जना थपिएका छन् । यससँगै राष्ट्रिय सभामा कांग्रेसको संसद् संख्या २५ पुगेको छ । यो सँगै कांग्रेस राष्ट्रिय सभामा सबैभन्दा ठुलो दल बनेको छ । 

दोस्रो दलका रूपमा नेपाली कम्युनिस्ट पार्टी रहनेछ । यो पार्टी हाल संसद्मा २५ सिटसहित सबैभन्दा ठुलो दलको हैसियतमा छ । २५ मध्ये आगामी फागुन २० मा आठ जना बिदा हुँदै छन् । त्यसपछि यो पार्टीको सांसद संख्या १७ मा सीमित हुनेछ । साथै, मनोनीत राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहाल नेपाली कम्युनिस्ट पार्टी पृष्ठभूमिका हुन् । 

तेस्रो दलका रूपमा नेकपा एमाले रहनेछ । यो पार्टीका हाल १० जना सांसद् छन् । यसमध्ये आठ जना आगामी फागुन २० मा बिदा हुँदै छन् । आइतबारको निर्वाचनबाट आठ जना नै निर्वाचित भएकाले यो पार्टीको सांसद संख्या १० ले निरन्तरता पाउने छ । साथै, राष्ट्रपतिबाट मनोनीत सांसद डा।.अञ्जान शाक्य एमाले पृष्ठभूमिका हुन् । 

यसबाहेक आगामी फागुन २० पछि राष्ट्रिय सभामा जनता समाजवादी पार्टी नेपालका दुई जना, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक जना र राष्ट्रिय जनमोर्चाका एक जना रहनेछन् । मनोनीत तीन जना सांसदमध्ये एक जना मनोनीत हुन बाँकी छन् । 

यो संसदीय अंकगणितमा कांग्रेस र एमालेको सिट संख्या दुई तिहाइ नजिक छ । यी दुई दलले राष्ट्रिय सभामा तालमेल गरेका थिए । १८ पदका लागि भएको निर्वाचनमा कांग्रेसले नौ, एमालेले आठ सिटमा उम्मेदवार उठाएको थियो । एउटा सिटमा लोसपाका उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेको थियो । तालमेलअनुसार सबैतिर नतिजा निकालेसँगै राष्ट्रिय सभामा कांग्रेस र एमाले दुई तिहाइ नजिक पुगेका हुन् । 

कांग्रेसको २५ र एमालेको १० मिल्दा ३५ पुग्छ । लोसपा र जसपा नेपाल एक भइसकेका छन् । उनीहरूका उम्मेदवारलाई कांग्रेस र एमालेले समर्थन नै गरेर जिताएकाले भविष्यमा समेत सहकार्य हुन सक्छ । यस्तोमा तीन जना सांसद संख्या थपिन्छ र ३८ पुग्छ । राष्ट्रपतिबाट मनोनीत सांसद डा। अञ्जान शाक्य एमाले पृृष्ठभूमिबाट भएकाले यो जोड्दा ३९ पुग्छ । राष्ट्रपतिबाट मनोनीत हुने एउटा सिट खाली छ । त्यसमा कांग्रेस वा एमाले समर्थित व्यक्ति पुग्दा उनीहरूको पक्षमा सांसदको संख्या ४० पुग्छ । ५९ सदस्यीय सभामा ४० सांसद संख्या एकातिर भए दुई तिहाइ बहुमत पुग्छ । यो खबर मध्यान्हबाट लिएका हौ ।

प्रतिक्रिया