काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदले सीमित स्रोत र साधनका बाबजुद उल्लेखनीय उपलब्धि हासिल गर्दै राष्ट्रिय खेलकुदको विकासमा नयाँ फड्को मारेको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले विगत ६ दशकभन्दा लामो इतिहास बोकेको नेपाली खेलकुदले आरोह–अवरोह पार गर्दै अन्तर्राष्ट्रिय स्तरमा पदक जितेर मुलुकलाई विश्व परिचय दिलाएको उल्लेख गरे ।
‘सीमित स्रोत र साधनका बाबजुद पनि नेपाली खेलाडीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपालको झण्डा फहराउँदै राष्ट्रको शिर उच्च बनाएका छन् । यसले खेलकुदको विकासमा ठूलो फड्को मारिएको प्रष्ट देखिन्छ,’ मन्त्री चौधरीले भने ।
उनले खेल क्षेत्रको विकासका लागि सरकारले यो वर्ष विगतको तुलनामा बढी बजेट विनियोजन गरेको जानकारी दिँदै खेलाडीको वृद्धि र विकासमा अझ बढी ध्यान दिनुपर्नेमा जोड दिए ।
यस अवसरमा राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टंक घिसिङले पनि पछिल्लो वर्ष नेपाली खेलकुदले थुप्रै उपलब्धि हासिल गरेको बताएका छन् । उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले सफलता हात पारेका छन् भने देशभित्र पनि खेलकुद कार्यक्रमहरूको तीव्रता बढेको छ ।’
अध्यक्ष घिसिङले भौतिक पूर्वाधार निर्माणमा समेत उल्लेखनीय काम भएको बताउँदै नेपाली खेलकुदलाई विज्ञान र आधुनिक प्रविधिसँग जोड्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।
‘आर्थिक वर्ष २०८१÷८२ को अवधिमा नेपाली खेलकुदले उल्लेखनीय प्रगति गरेको छ । हाम्रो लक्ष्य नेपाली खेलकुदलाई विश्वस्तरीय प्रतिस्पर्धात्मक स्तरमा पु¥याउने हो,’ उनले भने ।