काठमाडौं । नेपाली कांग्रेसले जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकपछि प्रचारप्रसार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पत्रकारसमक्ष जानकारी दिँदै भने, “भदौ २४ गतेको प्रदर्शनमा सिंहदरबारभित्रका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाका कार्यालयदेखि राजनीतिक दलका कार्यालय, नेताहरुको निजी घर–डेँरा तथा मुलुकको उन्नतिसँग सम्बन्धित सार्वजनिक तथा निजी संरचनामा भएको तोडफोड र आगजनीको कडा भत्र्सना गर्दै त्यसको छानबिन आवश्यक छ ।”
उनका अनुसार दोषी पहिचान गरी कारबाही गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन अबको अपरिहार्यता भएको कांग्रेसको निष्कर्ष छ।
त्यसैगरी, बैठकले हालै भएको संसद् विघटनलाई असंवैधानिक भन्दै त्यसविरुद्ध औपचारिक विरोध गर्ने निर्णय समेत गरेको छ। कांग्रेसले दशैंअघि केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको पनि विश्वकर्माले जानकारी दिए।