काठमाडौं । नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथग्रहण आज बिहीबार हुँदैछ । सिंहदरबार परिसरभित्र निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने यो कार्यक्रम यसपटक भाषिक विविधताका कारण विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ ।
संसद् सचिवालयका अनुसार शपथग्रहणका सबै तयारी पूरा भइसकेका छन् । नेपाली भाषासँगै विभिन्न मातृभाषामा शपथ लिने व्यवस्था मिलाइएकाले संसद् परिसर बहुभाषिक स्वरले गुन्जिनेछ ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख चयन नभएसम्म प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ । सोहीअनुसार सबैभन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले अन्य सदस्यहरूलाई शपथ गराउनेछन् । उहाँले भने यसअघि नै रामचन्द्र पौडेल बाट शपथ लिइसक्नुभएको छ ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नवनिर्वाचितमध्ये ४९ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिने तयारी गरेका छन् । मैथिली, भोजपुरी, नेपाल भाषा लगायतका भाषामा शपथ लिन नाम दर्ता गरिएको छ भने केही सांसदले संस्कृत भाषासमेत रोजेका छन् ।
यसपटकको शपथग्रहण कार्यक्रममा नेपालीपछि सबैभन्दा बढी प्रयोग हुने भाषा मैथिली र नेपाल भाषा रहने बताइएको छ ।