दुई खर्ब बराबरको संरचना नष्ट, पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक : मन्त्री घिसिङ

hitkhabar.com


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणका लागि सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी तथा तोडफोड भएको स्थल निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री घिसिङले करिब डेढदेखि दुई खर्ब रुपैयाँ बराबरको संरचना नष्ट भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

‘देशैभरि सरकारी संरचनाहरू ध्वस्त भएका छन्, जलेका छन्,’ मन्त्री घिसिङले भने, ‘अब हामी सबैले यी संरचनाहरू पुनर्निर्माण गर्ने संकल्प गर्नुपर्छ । सरसफाइ अभियान र पुनर्निर्माण अभियानलाई देशैभरि निरन्तरता दिनुपर्छ । यो अभियान देश निर्माणको अभियान हो ।’

उनले पुनर्निर्माणका लागि श्रमदान र आर्थिक सहयोग दुवै आवश्यक रहेको उल्लेख गर्दै मुलुकभित्र र विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सहभागिताका लागि आह्वान गरे ।

पुनर्निर्माण कोष स्थापना

सरकारले संरचना पुनर्निर्माणका लागि विशेष कोष स्थापना गरिसकेको जानकारी दिंदै मन्त्री घिसिङले उक्त कोषमा इच्छाअनुसार आर्थिक सहयोग गर्न सबैमा आग्रह गरे । उनले भने, ‘यी ध्वस्त भएका संरचनाहरू हामी नेपालीहरूले नै श्रमदान र आर्थिक सहयोग जुटाएर बनाउनुपर्ने जिम्मेवारी आएको छ ।’

आन्दोलनमा व्यापक क्षति

हालैका आन्दोलनका क्रममा काठमाडौंसहित विभिन्न जिल्लामा सरकारी भवन, सवारी साधन र अन्य सार्वजनिक सम्पत्तिमा आगजनी तथा तोडफोड गरिएको थियो । सरकारले पुनर्निर्माण र सुधारका लागि आवश्यक पहल सुरु गरिसकेको जनाएको छ ।

प्रतिक्रिया