आजदेखि सुरु भयो बडादसैँ, घटस्थापनासहित पूजा आरम्भ

hitkhabar.com


काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान् चाड बडादसैँ आज (आश्विन शुक्ल प्रतिपदा)देखि सुरु भएको छ। पन्ध्र दिनसम्म धूमधामका साथ मनाइने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ।

आज बिहानैदेखि देशभरका घरघरमा घटस्थापना गरिएको छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गर्ने परम्परा छ।

नित्यकर्म पूरा गरेपछि नजिकैको नदी वा चोखो स्थलबाट ल्याइएको माटो पूजा कोठामा राखी त्यसमा जौ रोपिन्छ। यसलाई जमरा राख्ने भनिन्छ। दुर्गा देवीको प्रिय अन्न मानिने यव (जौ) अंकुरण भएर पहेँलो जमरा बनेपछि विजयादशमीका दिन टीकासँगै ग्रहण गरिन्छ।

आजैको दिन कलश स्थापना गरेर त्यसैको माध्यमबाट शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले यस दिनलाई घटस्थापना भनिन्छ। आज राखिएको कलशमा पूजाआजा गरी विजया दशमीका दिन प्रसादस्वरुप ग्रहण गर्ने प्रचलन छ।

प्रतिक्रिया