काठमाडौँ । नेपाल बुद्धिचाल महासंघ र रसियाको मस्को क्षेत्रीय चेस महासंघबीच ६ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ। रुसको राजधानी मस्कोमा भएको कार्यक्रममार्फत सम्झौतापत्रमा नेपालतर्फ अध्यक्ष हेराकाजी महर्जन र रसियातर्फ राजनीतिज्ञ तथा सिनेटर सेर्गेइ अलेक्जान्द्रोभिच कार्जाकिनले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार दुबै महासंघले चेसलाई मित्रता र समझदारीको माध्यमका रूपमा प्रयोग गर्दै खेलाडी टोलीहरूको आदानप्रदान, तालिम, अनलाइन प्रशिक्षण, प्रशिक्षक सीप अभिवृद्धि तथा अतिरिक्त शिक्षा कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ। साथै नेपाल र रसियामा द्विपक्षीय प्रतियोगिता आयोजना गर्ने र समयानुकूल अनलाइन प्रतियोगितासमेत गर्ने व्यवस्था गरिएको छ।
सम्झौताअनुसार खेलाडी र प्रतिनिधिहरूको सहभागिता तथा वित्तीय शर्तहरू दुबै पक्षबीच अग्रिम सहमतिमा तय हुनेछन्। सम्झौताले कुनै अन्तर्राष्ट्रिय कानुनी दायित्व सिर्जना नगरी चेस खेल प्रवद्र्धनमा मात्र केन्द्रित रहने स्पष्ट गरिएको छ।
रुस गणराज्य काल्मिकियाका राष्ट्रपति तथा काल्मिक क्षेत्रीय चेस महासंघका अध्यक्ष किर्सान निकोस्लाभिच इल्युमजिनोभको पहलमा सम्झौता सम्पन्न भएको नेपाल बुद्धिचाल महासंघका अध्यक्ष महर्जनले बताए। उनका अनुसार विश्वशान्तिका दूत गौतम बुद्धको नाममा पहिलो प्रतियोगिता काल्मिकियामा सम्पन्न भइसकेको र दोस्रो प्रतियोगिता रुसमा तथा तेस्रो नेपालमा गर्ने सहमति भएको छ।
सम्झौतामा हस्ताक्षर गर्ने सर्गेइ कार्जाकिन विश्वकै कान्छो ग्राण्ड मास्टरका रूपमा १२ वर्ष ७ महिनामा इतिहास रच्न सफल खेलाडी हुन्। उनले नेपाली युवा खेलाडीको स्तर प्रशंसनीय रहेको भन्दै थप प्रशिक्षण अवसरले ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।
नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले विगतमा पनि नेपाली खेलाडीलाई रसियन ग्राण्ड मास्टर अलेक्जेन्डर फोमिनि, बंगलादेशका जिएम निहाज मुर्सेद, भारतका जिबि जोशी लगायतबाट प्रशिक्षण प्राप्त भएको जानकारी दिए। हालै नेपाली चेस ओलम्पियाड टोलीलाई काजकिस्तानी ग्राण्ड मास्टर मुर्ताज काजगल्यएभ र आइएम बख्तियार अस्कारोभले प्रशिक्षण दिएको समेत उनले स्मरण गरे।
फिडेका निवर्तमान अध्यक्ष किर्सानको सहयोगमा सन् २०१५ देखि २०२१ सम्म नेपाली खेलाडीले रसियामा छात्रवृत्ति प्राप्त गरेका थिए। सो अवसर सदुपयोग गर्नेमा एफएम बिबेक थिङ, एफएम रुपेश जैसवाल र सौरभ प्रधान रहेका थिए। ताम्राकारका अनुसार यो नयाँ सम्झौताले पुनः छात्रवृत्तिका अवसरलाई निरन्तरता दिनेछ भने नेपाली खेलाडीहरूको स्तर उकास्न पनि योगदान गर्नेछ।