सस्तो लोकप्रियताको लागि सेनाको विरुद्धमा नबोल्न पूर्व सुरक्षाकर्मीहरुको चेतावनी

Sharing is caring!

असार २९, २०८० । पूर्व सुरक्षाकर्मीहरुले सस्तो लोकप्रियताको लागि सेनाको विरुद्धमा नबोल्न चेतावनी दिएका छन् ।

नेपाली सेनाको संख्या घटाउने विषयमा पछिल्लो समय राजनीति वृत्त र सदनमासमेत बहस सुरु भएको छ । संघीय संसद्का दुवै सदनमा खर्च कटौतिका लागि सेनाको संख्या घटाउन पर्ने आवज उठिरहेको छ । सेनाको संख्या कटौतिको विषयमा भएका बहसलाई अवकाशप्राप्त सुरक्षाकर्मीहरुले आलोचना गरेका छन् ।

आज काठमाडौंमा अवकाशपाप्त नेपाली सेनाका अधिकारीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सुरक्षाकर्मीहरुले प्रतिनिधि सभामा डा. स्वर्णिम वाग्ले र राष्ट्रिय सभामा विमला राईले सेनाको संख्या घटाउने विषयमा दिएको अभिव्यक्तिको खण्डण गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष पुष्पाखर गौतमले विदेशी चलखेलको आधारमा नेपाली सेनाको संख्या कटौति गर्न सडकदेखि संसद्सम्म चलखेल सुरु भएको बताए । विश्वको सैनिक इतिहासमा नेपाली सेनाले आफ्नो गौरवगाथा रच्न सफल भएको उनको दाबी छ । सेना नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय बिविधतालाई एकताको सुत्रमा बाँधेर देश र जनताको सेवामा समर्पित रहेको उनले बताए ।

साथै, नेपाली सेना विश्वको थुप्रै मुलुकहरूमा शान्ति स्थापनाको कार्यमा उच्चस्तरको कला कौशलता प्रस्तुत गर्न सफल रहेको उनले बताए । उनले मुलुकभित्र आईपर्ने प्राकृतिक विपत्तिमा नागरिकको उद्दार, राष्ट्रिय स्तरका दर्जनौ सडक निर्माण, राष्ट्रको महत्वपूर्ण संरचना निर्माण, विद्युत आयोजना र भि.भि.आई.पि.हरूको सुरक्षामा पनि नेपाली सेनाले योगदान दिइरहेको स्मरण गरे । उनले संयुक्त राष्ट्रसंघको मापदण्डबमोजिम सेनाको संख्या हुनुपर्ने भएपनि नेपालमा सबै संख्यामा दरबन्दी पुरा नरहेको बताए । उनले अहिले सेनाको संख्या घटाउनुपर्ने कुरा उठिरहेकोप्रति आपत्ति जनाए । यस्ता खालका अभिव्यक्तिले सेनाको अपमान हुने उनको बुझाई छ ।

त्यस्तै माओवादीका पूर्व बालसैन्य लेनिन विष्टले सरकारले सेनाको संख्या घटाउने भन्दै सेनाको आत्मबल गिराएको आरोप लगाए । अध्ययनविना नै सेनाको संख्या घटाउने कुरा उठाइएको भन्दै उनले आपत्ति जनाए । देशमा सेनाविना परिवर्तन सम्भव नरहेको उनको निष्कर्ष छ । उनले सरकारले लोकतन्त्रको नाममा देशको अस्तित्वमाथि नै खेलवाड गरिरहेको आरोप लगाए ।

‘यो सरकारले लोकतन्त्रको नाममा देशको अस्तिवमाचि नै खेलवाड गर्ने काम भएको छ । भविष्यमा पनि यो हुन्छ । यो संसारकै सबैभन्दा पुरानो संस्था हो । नेपाली सेनाको इतिहास छ । आज त्यो इतिहासमाथि प्रहार भयो,’– उनले भने ।
आफू र पूर्व जनमुक्ति सेनाहरु देशको लागि लड्न अझैपनि तयार रहेको उनले बताए ।

पूर्व सुरक्षाकर्मी नेपालका केन्द्रीय सदस्य विक्रम पाण्डेले सेनालाई राज्यले क्रमिक रुपमा कमजोर बनाउने काम गरिरहेको आरोप लगाए । उनले आफूहरु उमेर हदका कारण संस्थाबाट अवकाश भएपनि देश र जनताको हितको लागि अवकाश नभएको बताए । नेपाली सेना आफ्नो अनुशासनसहित देश र नेपाली जनताको रक्षामा तल्लीन रहेको बताउँदै पाण्डेले सेनालाई चलाएर गल्ती नगर्न सबै राजनीतिक दललाई चेतावनी पनि दिए ।

पूर्व सुरक्षाकर्मी नेपालका केन्द्रीय उपाध्यक्ष सशस्त्र प्रहरी बल नेपालका पूर्व डिएसपी खगेन्द्रराज बस्नेतले नेपाली सेना राष्ट्रको संरक्षण गर्ने गौरव भएको बताए । सरकारले सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरेको रेशम चौधरीलाई आम माफी दिन सोच्न भ्याएको तर सेनाको गौरव र गरिमाको बारेमा सोच्न नसकेको भन्दै आपत्ति जनाए ।
‘सेनाको बारेमा बोल्नुभन्दा पहिले सोच्नुस् । नसोचिकन बोलेको कुराले देशमा नोक्सान पुग्छ । राष्ट्र र राष्ट्रिष्तामा क्षति पुग्छ,’– उनले भने ।

राजनीतिलाई सेवा मान्ने हो भने स्थानीय तहको तलब, भत्ता कटौति गर्न आवश्यक रहेको उनको भनाई छ । राजनीतिले केही फाइदा नदिएको भन्दै उनले राजनीतिक रुपमा हुने सबै प्रकारका खर्च कटौति हुन आवश्यक रहेको बताए । उनले सेना राष्ट्र र सबै नेपालीको गौरबको विषय भएको बताए । राष्ट्रलाई आवश्यक परेको खण्डमा अवकाश प्राप्त सुरक्षाकर्मीहरु बलिदानीको लागि तयार रहेकोसमेत उनले प्रतिवद्धता व्यक्त गरे ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य मोहन थापाले नेपाली सेना नेपाल देश निर्माण गर्ने संस्था रहेको बताए । सेना स्थापना भएर देश निर्माण गर्दै गर्दा आज विश्वमा शक्तिशाली भएका देशहरु स्वाधीनसमेत नभएको उनको भनाई छ । नेपाली सेना सानो बनाएर त्यसबाट जोगिने खर्चले कुनै पनि विकास निर्माणको काम सम्पन्न नहुने उनको दाबी छ । कतिपयले सुगौली सन्धीपछि सेनाको कुनै काम नभएको टिप्पणी गरेको भन्दै उनले भने, ‘सेनाले देशभित्र सञ्चालित आन्तरिक द्वन्द्वमा दाजुभाई मार्नमा बहादुरी नदेखाएको चाहिँ सत्य हो । सेनालाई दाजुभाई मार्नु थिएन । जनता मार्नु थिएन । त्यो आफ्नो सुरक्षाको लागि गरिएको न्यूनतम् दायित्वमात्रै थियो ।’ उनले सेनाले नै विद्रोही शक्तिलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन बाध्य बनाएको दाबी गरे ।

अवकासप्राप्त सहायक रथी बाबुकृष्ण कार्कीले नेपाली सेनाको संख्या घटाउनेभन्दा पनि बढाउन आवश्यक रहेको बताए । उनले अहिले सेनाले विभिन्न विपत्तिमा पहिलो उद्धारकर्ता भएर जनताको वस्तीमा गएर सेवा दिएको उनले बताए ।
सेनाको संख्या घटाने कुरामा स्वार्थ लुकेको उनको दाबी छ । उनले नेपालमा द्वन्द्व व्यवस्थापनमा आएका विज्ञले सेनाको संख्या पाँच लाख हुनुपर्ने बताएको पनि दाबी गरे ।

इतिहासविद् भीम बर्माले जनआन्दोलनपछि टिकाटिप्पणी आइरहेको बताए । यस्तो खाल्को टिकाटिप्पणी सुरक्षाको हिसाबले पनि खतरनाक रहेको बताए । यस्ता खाल्का टिकाटिप्पणीले विदेशीहरुले आफ्नो स्वार्थ पुरा गरिरहेको बताए ।
नेपालभन्दा साना देशमा नेपालकोभन्दा ठूला संख्यामा सेना रहेको उल्लेख गर्दै उनले यस्ता विषयमा सदन र संसद्मा छलफल गर्न नहुने बताए । उनले सेना देशको प्राण भएको बताए ।

पूर्व सहायक रथी जीवनारायण श्रेष्ठले देश र जनता विपत्तिमा पर्दा पहिलो उद्धारकर्ता सेना भएको बताए । देशमा भूकम्प, बाढी, पहिरो र सुरक्षामा जोखिम आएको बेला सेना नै अगाडि बढेको उनले स्मरण गरे ।

पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यातले केही मान्छेहरुले फिरङ्गीको हण्डी खाएर नेपाली सेनाविरुद्ध बोलिरहेको आरोप लगाए । नेता, सांसद, न्यायाधीश सबैले फिरङ्गीको हण्डी खाने गरेको उनको आरोप छ । सेनाभित्र पनि केही सुधारको आवश्यकता रहेको औंल्याउँदै उनले नेपाल निर्माणमा सेनाको भूमिका कसैले पनि भूल्न नहुने बताए । गे्रटर भारतको नक्सामा नेपालमा भू–भाग समावेश भएकोमा आपत्ति जनाउँदै उनले प्रधानमन्त्रीको आलोचना गरे । प्रधानमन्त्रीले भारतको ज्यादतिविरुद्ध केही बोल्न नसकेको उनको आरोप छ । उनले सेनाका उच्च पदस्थ अधिकारीहरुलाई अवकाशप्राप्त भएपछि पनि शिर ठाडो पारेर हिँड्न सक्ने गरी काम गर्न आग्रह गरे ।

अवकाशप्राप्त सहायक रथी डा. केशरबहादुर भण्डारीले राजनीतिककर्मीहरु सेनालाई कमजोर बनाउने उद्धत भइरहेको आरोप लगाए । सेनाको विरुद्धको अभिव्यक्ति आफूहरुलाई सह्य नहुने उनको भनाई छ । आवेगमा आएर सस्तो लोकप्रियताको लागि सेनाको विरुद्धमा नबोल्न उनले आग्रह गरे । देश निर्माणमा सेनाको योगदान अतुलनीय रहेको बताउँदै उनले यसका विरुद्ध नलाग्न आग्रह गरे । नेपालमा तुलनात्मक हिसाबमा सबैभन्दा राम्रो संस्था नेपाली सेना रहेको उनको दाबी छ । देशलाई संकट पर्दा सबैभन्दा पहिले योगदान दिन सक्ने संस्था नै सेना भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *