कोशी प्रदेश सरकारमा जसपा सहभागी नहुने

Sharing is caring!

कात्तिक १४, २०८० । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सहमतिको सरकार बनाउने भनिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी नहुने भएको छ ।

सुनसरीको इटहरीमा आज बसेको जसपाको प्रदेश कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो । जसपा प्रदेश कमिटी अध्यक्ष दीपक याक्खाका अनुसार बैठकले पार्टी तत्काल कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

‘मुख्यमन्त्रीले पहिचानको आन्दोलनका विषयमा धारणा सार्वजनिक गर्नुभएको छैन’ याक्खाले भने, ‘उहाँले पहिचान पक्षधरलाई सम्बोधन हुने गरी धारणा सार्वजनिक गर्नुभयो भने सरकारमा सहभागिताबारे छलफल हुनेछ ।’ मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएको जसपाले सरकारलाई दिएको समर्थन भने यथावत् राख्ने भएको छ ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार सर्वदलीय सहमतिका आधारमा विस्तार गर्नुपर्ने अवस्था रहेको सार्वजनिक अभिव्यक्ति दिंदै आएका छन् । कार्कीलाई समर्थन गरेको नेकपा एमालेले भने माओवादीसहित गठबन्धनका अरु सबै दलको सहभागिता सरकारमा हुनु नहुने बताउँदै आएको छ ।

यसैगरी, माओवादीले एमाले तत्काल सरकारबाट अलग हुनुपर्ने बताउँदै आएको छ । मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गरेकै दिन कांग्रेसका एकजना र एमालेका एकजना प्रतिनिधिलाई सहभागी गराउँदै मन्त्रिमण्डल गठन गरेका थिए ।उनीहरु दुवैजना हाल बिना विभागीय मन्त्रीका रुपमा छन् । एमालेले पाँचवटा मन्त्रालयमा आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ ।

सरकारमा कुन कुन दल सहभागी हुने भन्ने विषयमा टुंगो नलाग्दा मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *