मुलुकमा कानूनी राज्य छ, नियतबस राजस्व छलेको भए दण्डित हुनैपर्छ: अर्थमन्त्री

Sharing is caring!

भदौ १४, २०७६ । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायी माथि दुःख दिने नियत सरकारको नभएको भन्दै इमान्दार भएर व्यापार व्यवसाय गर्न व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्शले शुक्रवार  संघीय राजधानीमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नियतबस राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने बताए ।

‘बदनियतपूर्ण ढंगले कर छली गरेको रहेछ भने मात्र दण्ड जरिवाना हुन्छ,’ उनले भने, ‘नियतबस, सोझै राजस्व छलेको छ भन्ने पुष्टि भयो भने दण्डित हुनैपर्छ, किनकी मुलुकमा कानूनी राज्य छ, सबैले नियम कानून पालना ग¥यो भने मात्र स्वच्छ व्यवसाय गर्नेलाई न्याय हुन्छ ।’

राजस्व चुहावट ऐनलाई पहिलेकोभन्दा व्यवस्थित बनाइएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले राजस्व चुहावट नियन्त्रण गर्न यसअघिका तुलनामा व्यवस्थित प्रयासको थालनी गरिएको बताए । उनले भने, ‘राजस्व व्यवस्थित गर्न सरकारले सकेसम्मको प्रयास गरिरहेको छ ।’ राजस्व छलीमा हुने जेल सजाय पनि घटाउने र दण्ड तथा जरिवानाका विषयमा पनि पुनरवलोकन प्रस्ताव गरिएको बताउँदै अर्थमन्त्री खतिवडाले राजस्व छलीको घटना रोक्न विभिन्न प्रणालीको विकास गरिएको बताए ।

सरकारले भन्सार ऐनको मस्यौदा तयार गरिरहेको उल्लेख गर्दै उनले निजी क्षेत्रको सुझाव ग्रहण गर्न सरकार तयार रहेको बताए । व्यवसायीले पटकपटक भ्याट फिर्ताको विषय उठाउँदै आएकातर्फ लक्षित गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘अब भ्याट फिर्ताको कुरा नगर्नुहोला, भ्याट फिर्ता माग्नुभयो भने थप समस्या आउन सक्छ ।’

भीसीटीएस प्रणालीमा केही व्यावहारिक समस्या रहेको महशुस गरिएकोे उल्लेख गर्दै उनले यसलाई सहजीकरण गर्न सरकारले पटकपटक निजी क्षेत्रसँग छलफल गरेको स्मरण गराए । सरकारले ढुवानी व्यवसायलाई यसमा आउनका लागि स्वेच्छिक रुपमा प्रेरित गरेको बताउँदै अर्थमन्त्री डा. खतिवडाले धेरै ढुवानीकर्ता यस प्रणालीमा आइसकेको जानकारी दिए । अब छिट्टै यस प्रणालीलाई अनिवार्य गरिने उनको भनाइ थियो ।

यस प्रणालीको कार्यान्वयनसँगै दोहोरो ‘इन्ट्री’ र पटकपटक विवरण बुझाउनुपर्ने झन्झट मुक्त भएको उनले बताए । ‘बानी नपरेको जनशक्ति, भन्सारका कर्मचारीलाई कतिपय विषय अलमल भएकाले केही समय अभ्यास गर्न लाग्न सक्छ,’ उनले भने, ‘प्राविधिक समस्या पनि आउन सक्छ भनेर नै केही समयका लागि परीक्षणकालका रुपमा राखिएको छ, यो बेला हामीले प्रणाली चलाउन सिक्ने र जान्ने बेला हो ।’ भीसीटीएस प्रणालीले व्यवस्थित ढंगबाट व्यवसाय सञ्चालन गर्न सहज बनाउने उनको भनाइ थियो । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *