सरकारको खबरदारी गर्न कांग्रेसको छाया सरकार

Sharing is caring!

पुस २५, २०७५ । कांग्रेसले सरकारलाई खबरदारी गर्न सभापति शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकार बनाउने भएको छ । पार्टी संसदीय दलको मंगलबारको बैठकले प्रधानमन्त्रीसहित राज्यका सबै मन्त्रालयको कामकारबाहीलाई नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने निर्णय गरेको हो ।

‘संसदीय दललाई अझै प्रभावकारी बनाउन हामीले छाया सरकार गठन गर्ने तयारी गरेका छौँ,’ प्रमुख सचेतक बालकृष्ण खाणले भने, ‘सबै मन्त्रालय हेर्ने गरी सांसदहरूलाई जिम्मेवारी दिँदै छौँ ।’

आफूले नेतृत्व गर्न सक्ने र रुचि भएको मन्त्रालयको नाम तीन दिनभित्र दिन कांग्रेसले सांसदहरूलाई निर्देशन दिएको छ । सात दिनभित्रै छाया सरकार गठन गर्ने खाणले बताए । सांसदहरूले मन्त्रालयको नाम दिएपछि दलले कुन मन्त्रालय कसलाई हेर्न दिने भन्ने सूची प्रकाशित गर्नेछ ।

मन्त्रालयगत रूपमा प्रत्येकमा एक संयोजक र तीनदेखि चारजना सदस्य रहनेछन् । सचेतक खाणका अनुसार संयोजकले सरकारका मन्त्रालयले गरेको कामकारबाही, नीति, कार्यक्रमको निगरानी गरी पार्टी धारणा बनाएर संसदीय दलको बैठकमा प्रस्तुत गर्नेछन् । आवश्यकताअनुसार मन्त्रालयको समीक्षा संसद्मा पनि गरिने जानकारी खाणले दिए ।

विदेशमा पनि अभ्यास छ: शेरबहादुर देउवा, सभापति

हाम्रो देशमा अहिले मन्त्रालयपिच्छे अनियमितता बढेको छ । जनताले राहत पाएका छैनन् । विकास पाएका छैनन् । अब प्रतिपक्षीका रूपमा कांग्रेसले खबरदारी गर्नका लागि छाया सरकार गठन गरेर जानुपर्छ । विदेशमा पनि स्याडो गभर्मेन्ट (छाया सरकार)को अभ्यास छ । यो खबर नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *