वाम एकताको चर्चा : तीन दल तीन तिर

Sharing is caring!

वैशाख १०, २०८१ । नयाँ सत्ता समीकरण निर्माणसँगै पुनः वामपन्थी एकता हुने चर्चा भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ठूला वामपन्थी दलको सहकार्य र सहभागिताले वाम एकताको चर्चा चल्नु स्वाभाविक नै थियो । तर, तिनै प्रमुख दलहरू अहिले नै वामपन्थी एकता वा समाजवादी ध्रुवीकरणको सम्भावना नभएको निष्कर्षमा पुगेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा प्रमुख तीन कम्युनिस्ट पार्टी सहभागी छन् । प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित पाँच दलका बीचमा सत्ता सहकार्य सहमतिमा अगाडि बढेको छ ।

समाजवादी मोर्चामा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) पनि प्रचण्ड नेतृत्वको सरकारमा छ । सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द विप्लव नेृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि समाजवादी मोर्चामा छ । सत्ता सहकार्यमा भएको सहमतिले यी प्रमुख दलका बीचमा वामपन्थी एकता वा समाजवादी ध्रुवीकरण हुने सम्भावना भए पनि त्यसलाई नेताहरूले अस्वीकार गरेका छन् ।

नेपाली कांग्रेससँगको सहकार्य तोड्दै प्रचण्डले गत २१ फागुनमा नयाँ सत्ता समीकरण निर्माण गरेका थिए । त्यसपछि अब वामपन्थी एकता वा समाजवादी ध्रुवीकरण हुने चर्चा राजनीतिक वृत्तमा भएको थियो । ’अबगकभ, अधिकांश वामपन्थी दलहरू एकजुट भएपछि कतिपयले अब पुरानो ‘नेकपा’ ब्युँतिने समेत आँकलन गरेका थिए । सत्ता सहकार्यका लागि सहमत दलका कतिपय नेताले ‘वामपन्थी एकता तथा ध्रुवीकरणको सुरुवात’कै रूपमा सत्ता समीकरणलाई अथ्र्याएका थिए ।

तर एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरू नै वामपन्थी एकता तथा समाजवादी ध्रुवीकरण अहिलेकै अवस्थामा सम्भव नभएको निष्कर्षमा पुगेका छन् । एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा एमाले अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा अहिले नै वामपन्थी एकता तथा समाजवादी ध्रुवीकरणको सम्भावना नभएको उल्लेख गरेका छन् ।

ओलीको प्रतिवेदनमा अहिल्यै यो कदम उचित, व्यावहारिक र लाभदायी नहुने निष्कर्ष निकालिएको छ । मुलुकका गम्भीर प्रश्नहरूमा सबै दलबीच न्यूनतम समझदारीको खाँचो रहेकाले कसैलाई निषेध गर्दै वामपन्थी एकता तथा समाजवादी ध्रुवीकरण तत्काल उचित नहुने निष्कर्ष ओलीको छ । प्रतिवेदनमा त्यसका लागि विश्वासको वातावरण बन्न पनि बाँकी नै रहेको उल्लेख गरिएको छ ।

‘मुलुकमा जस्ता गम्भीर समस्या छन्, तिनको समाधानका लागि सबै राजनीतिक दलबीच निरन्तर संवाद आवश्यक छ, मुख्य प्रश्नहरूमा न्यूनतम समझदारीको खाँचो छ, अनि विचार मिल्नेहरूमाझ सहकार्य आवश्यक छ, त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्नेगरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यावहारिक र लाभदायी हुँदैन,’ ओलीको प्रतिवेदनमा भनिएको छ, ‘सहकार्य गहिरो हुँदै र विश्वासको वातावरण निर्माण हुँदैजाँदा भोलि विचार मिल्नेहरू क्रमशः एकैठाउँमा हुँदै जानेछन्, त्यसो हुनु पनि पर्छ तर आजको दिनमा भने सबै सकारात्मक शक्तिलाई साथ लिएर अगाडि बढ्नु बढी महत्वपूर्ण छ ।’

हुन त एमालेले सुरुदेखि नै वर्तमान सत्ता समीकरणलाई वामपन्थी एकता वा ध्रुवीकरणका रूपमा नलिन आग्रह गर्दै आएको थियो । एमाले महासचिव शंकर पोखरेलले निरन्तरजसो अहिलेको सहकार्य न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पको आधारमा मात्र भएकाले यसलाई वामपन्थी एकताको दिशातर्फको यात्राका रूपमा नबुझ्न आग्रह गर्दै आएका छन् ।

‘अहिलेको सरकार वा पाँच दलको सहकार्य वामपन्थी सहकार्य होइन, यद्यपि त्यहाँ वामपन्थी दलको सहभागिता बढी छ, यो सहकार्य न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा आधारित सहकार्य हो, त्यसमा सहमत भएका दलहरूको सहकार्य हो,’ गत १३ चैतमा एमाले बाग्मतीको बैठकमा एमाले महासचिव पोखरेलले भने, ‘हामीले जे हो त्यही रूपमा बुझ्नुपर्छ, यो वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर जुन टिप्पणी छ, त्यसमा उद्वेलित हुनुपर्ने वा प्रभावित हुनुपर्ने आवश्यकता छैन ।’

प्रधानमन्त्री प्रचण्डले अहिलेकै अवस्थामा वामपन्थी एकता सम्भव नभएको बताएका छन् । कांग्रेससँगको सत्ता सहकार्य तोडेर एमालेसँग सहकार्य गर्न पुगेका प्रचण्डले विस्तारै वामपन्थी एकता हुने बताउँदै आएको भए पनि आइतबार उनले अहिले नै वामपन्थी एकता सम्भव नभएको बताए ।

आइतबार धनगढीमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र यसलाई हेरिएको छ, राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्नेहरू एकठाउँमा हुने सम्भावना पनि बढ्दै जान्छ, त्यस्तो भएन भने अप्ठ्यारो स्थिति पनि हुनसक्छ ।’

तर, माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले कम्युनिस्ट पार्टीहरूका बीचमा सम्बन्ध सुधार गर्दै वामपन्थी एकता गर्नुको विकल्प नभएको बताए । नयाँ सत्ता समीकरण बनेसँगै उत्साही देखिएका पौडेलले सुरुदेखि नै अब राजनीतिक कोर्स करेक्सन गरेर वापमन्थी धु्रवीकरणतर्फ अगाडि बढेको उनले बताउँदै आएका छन् ।

‘वापमन्थी दलहरू एक हुनुपर्छ, नेपाली जनता र कम्युनिस्ट पार्टीका आमनेता कार्यकर्ताको चाहना पनि त्यही हो, वामपन्थी दल कमजोर भयो भने प्राप्त उपलब्धि पनि खतरामा पर्ने निश्चित छ,’ पौडेलले भने, ‘वामपन्थी एकता वा ध्रुवीकरणबाहेक अर्को बाटो छैन, सहकार्यसँगै वापमन्थी एकताको सुरुवात भएकै हो, एमालेले त्यसो भने पनि जाने त्यतै हो, अर्को बाटो हामीसँग छैन ।’

प्रधानमन्त्री प्रचण्ड स्वयंले पनि वामपन्थी शक्तिलाई एकैठाउँमा ल्याउने लक्ष्यका साथ नयाँ समीकरण निर्माण गरिएको दाबी गर्दै आएका थिए । गत १२ चैतमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको बाग्मती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै वामपन्थी शक्तिलाई एकैठाउँमा ल्याउने लक्ष्य राखिएको उनले बताएका थिए ।

एमालेबाट विभाजन भई गठन भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान परिस्थितिमा कम्युनिस्ट पार्टीहरूबीच तत्काल एकताको सम्भावना नरहेको बताए । शनिबार धादिङ–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा पाण्डेले कम्युनिस्ट एकताका लागि विचार, कार्यदिशा र सिद्धान्तमा आवश्यक छलफल गर्न बाँकी रहेकाले अहिले एकता नहुने बताए ।

तर, एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने निरन्तर वामपन्थी एकताको पक्षमा वकालत गर्दै छन् । वर्तमान गठबन्धन बन्दैगर्दा उनी केही उत्साहित थिए । एकीकृत समाजवादी, एमाले वापमन्थी एकताका लागि तयार नभएको भए पनि खनालले अहिले पनि मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यता अन्त्यका लागि वाम घटकहरू एक हुनुपर्ने बताउँदै आएका छन् ।

३ जेठ २०७५ मा एक भएर सर्वोच्च अदालतको आदेशबाट करिब तीन वर्षपछि पुरानै अवस्थामा फर्किएका एमाले र माओवादीलाई फेरि एक गराउनुपर्ने दबाबसमेत छ । वामपन्थी एकताका लागि पहल गर्दै आएका नेता वामदेव गौतमले एकताका लागि पहल गर्दै आएका थिए । तर, शीर्ष नेताहरूको हठ एवं मनोमानीका कारण गौतमले विभाजित पार्टीलाई एकता गराउन सकेनन् । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *