तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दा जनजीवन प्रभावित

Sharing is caring!

वैशाख १०, २०८१ । सर्लाहीसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्न थालेको छ । बिहान र बेलुका मौसम सामान्य रहे पनि दिउँसो टन्टलापुर घाम लाग्ने गरेको छ । तीन दिनदेखि तातो हावा चल्न थालेपछि सर्वसाधारण समस्यामा पर्न थालेका छन् ।

गहुँ काट्ने, थन्क्याउने र खेतमा भएको भुस्सा, डुँडो डढाउने बेलामा चर्को घामसँगै अत्यधिक गर्मीले किसान प्रभावित भएका छन् । गर्मीका कारण जिल्लाका मुख्य बजारहरूमा समेत चहलपहल कम हुन थालेको छ । चर्को घाम र गर्मीका कारण लालबन्दी, हरिवन, बागमती, बरहथवा, मलंगवा, बयलवास, हरिपुर, गोडैता लगायतका बजारमा ग्राहक तथा बिक्रेताको आवतजावत पातलिएको स्थानीय ब्यापारीहरू बताउँछन् ।

गर्मी बढेसँगै जिल्लामा बिजुली कट्ने समस्या पनि बढिरहेको छ । जिल्ला सदरमुकाम मलंगवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा शनिबारबाट दैनिक ७ घण्टा बत्ती काट्न सुरु गरिएको छ । नवलपुर–मलंगवा ३३ केभी लाइनको पुरानो तार हटाई नयाँ तार जडानका लागि आगामी २२ गतेसम्मका लागि बिहान ७ बजेबाट दिउँसो २ बजेसम्म बत्ती काट्न सुरु गरिएको हो । गर्मी बढेसँगै बत्ती जाने समस्या हुँदा जनजीवन प्रभावित भएको छ ।

चर्को गर्मीमा यसरी घण्टौँ बत्ती काटिँदा स्थानीय प्रभावित बनेका छन् । मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा यसअघि पनि प्रसारण लाइन निर्माण तथा तार फेर्न भन्दै हप्तौँसम्म दिनभर बत्ती काट्न गरिएको थियो । विद्युुत् प्रवाहमा अन्य वितरण केन्द्रभन्दा मलंगवा वितरण केन्द्रमै बढी समस्या छ । अन्य क्षेत्रको तुलनामा मलंगवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा बढी लापरवाही रहेको ग्राहकहरूले गुनासो गरेका छन् ।

अत्यधिक गर्मी हुन थालेपछि वृद्धवृद्धा र बालबालिकामा समेत विभिन्न खाले समस्या देखिन थालेको छ । गर्मी मौसममा धेरैजसो एलर्जीको समस्या देखिने चिकित्सकहरू बताउँछन् । साथै तापक्रम बढ्दै जाँदा भिन्न किसिमका सरुवा रोग, हेपाटाइटिस रोग, झाडापखालाजस्ता समस्या देखिन सक्छ । तापक्रम बढेसँगै लामखुट्टे पनि बढ्दै जान्छ र लामखुट्टेबाट सर्ने रोगहरू जस्तै डेंगु, हात्तीपाइले लगायतका रोगहरू बढ्ने गरेको छ । दूषित पानी तथा बासी सडेगलेका खाना खाँदा टाइफाइड, हेपाटाइटिस ‘ई’ र ‘ए’ झाडापखाला, हैजा र आउँजस्ता रोग लाग्छन् । यो मौसममा झिंगा भन्केका, राम्रो सफाइ नभएको ठाउँका खानाले र आफ्नो पनि शरीर वरपरको वातावरणको राम्रो सफाइ नगर्दा यस्ता रोग सर्ने गरेको पाइन्छ ।

यसका साथै यो मौसममा रुघा लाग्ने, खोकी लाग्ने, छालामा डाबर देखापर्ने हुनसक्छ । यस्तो बेला सकेसम्म घरमा बनाएका ताजा खानेकुरा मात्रै खान स्वास्थ्यकर्मीको सल्लाह छ । बजारमा बाहिर राखेर बेचिने खानेकुरा, होटलका खानेकुराहरू खाँदा सचेत हुन चिकित्सकको आग्रह छ ।उनीहरूले चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, शरीरलाई शीतलता प्रदान गर्ने खानेकुरा खान, बाहिरी खानेकुरा सकभर नखान सुझाव दिएका छन् ।

त्यस्तै, दिउँसोको समयमा सडक तथा बजार सुनसान हुन थालेको छ । जिउ नै पोल्ने रापसहितको तातो पश्चिमा सुक्खा हावाले असजिलो पार्न थालेपछि सर्वसाधारणले मध्याह्नमा यात्रा गर्न कम गरिसकेका छन् । मुख्यगरी पैदल यात्रुले घरबाट बाहिर निस्कन बन्द नै गरिसकेका छन् भने साइकल तथा मोटरसाइकलमा यात्रा गर्नेको संख्यामा पनि व्यापक कमी आएको छ । दिउँसोको समयमा सार्वजनिक यातायातमा पनि करिब ५० प्रतिशतले यात्रु कम भइसकेको व्यावसायीहरू बताउँछन् ।

लामो समयदेखि पानी नपरेकोको जमिन तथा सडक पूरै सुक्खा छन् । नदी तथा तलाउहरू सुक्न थालेका छन् । माछापालक किसानलाई सुक्खाले निकै अप्ठ्यारो पारिरहेको किसानहरू बताउँछन् । पोखरीको पानी कम भइसकेपछि पानी तातो भएर माछाका भुराहरू मर्न थालेको किसानहरू बताउँछन् । आकाशे पानी नपरेको तथा तातो पश्चिमा हावा निरन्तर चलिरहेकोले माछा पालेको पोखरीको पानी पनि तीव्र गतिमा सुकिरहेको हुँदा माछापालन निकै महँगो सावित भइरहेको रौतहटका माछापालक किसानहरू बताउँछन् । ठूलो पोखरीमा दिनभर मोटर चलाएर पानी भर्दा पनि माछालाई अपुग भइरहेको किसानहरूको अनुभव रहेको छ ।

तरकारी बाली उत्पादन गर्ने किसानलाई सुक्खाले निकै घाटा बनाएको छ । सबैभन्दा बढी क्षति खुर्सानी खेतीमा भएको देखिएको छ । अत्यधिक चर्को घामले यस वर्ष सर्लाही र रौतहटमा खुर्सानीको उत्पादन खासै हुन नसक्ने किसानहरू बताउँछन् । बेमौसममा जस्तो अत्यधिक घाम चर्किएपछि खुर्सानी र तरकारी खेती गर्ने किसानलाई निकै मर्का परेको छ । तरकारी खेतीलाई २–३ दिनमै सिँचाइ गर्नु परिरहेको तथा तरकारी खेतीमा अत्यधिक घाँस उब्जिँदा गोडमेल गर्नु परिरहेकोले खेती महँगो भएको बिर्तीका किसान बिरचन साह बताउँछन् । उत्पादनमा खर्च निकै बढेको तथा उत्पादन कम भइरहेकोले तरकारी खेतीबाट किसानलाई नोक्सानी भइरहेको साह बताउँछन् ।

अत्यधिक घाम र सुक्खा हावाले आँप तथा लिचीको चिचिला निकै झरिरहेको किसानहरूले बताएका छन् । केही दिनसम्म यस्तै मौसम रहे आँप र लिचिको खेतीमा व्यापक क्षति पुग्ने किसानहरूको अनुमान छ । अत्यधिक घाम चर्केपछि चिसोको बिक्री केही बढेको तर अन्य व्यापारमा व्यापक कमी आएको व्यावसायीहरू बताउँछन् । किराना तथा फलफूल र कपडाको ब्यापारमा धेरै कमी आएको रौतहट कटहरियाका नसरुदीन अन्सारीले बताएका छन् । अत्यधिक गर्मी चर्केपछि कपडाको बेपारमा करिब ८० प्रतिशतले कमी आएको अन्सारीको दाबी छ । लगनको समय भए पनि बेपार सुस्त भएको अन्सारीको भनाइ छ । यो खबर सौर्य दैनिकबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *