‘गिरिजा कम्युनिस्ट थिए, बीपीले कांग्रेस बनाए’

Sharing is caring!

वैशाख १४, २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला कुनै बेला कम्युनिस्ट रहेको दाबी गरेका छन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीले नेपाली कांग्रेसबाटै ५ पटक प्रधानमन्त्री बनेका गिरिजाको कम्युनिस्ट इतिहासबारे बोलेका हुन् ।

ओलीले गिरिजालई कम्युनिस्ट भनेको कार्यक्रम थियो, ललितपुरको सानेपामा आयोजित १९ औँ मनमोहन स्मृति दिवस । ओलीका अनुसार गिरिजा वि.सं. १९९९ देखि वि.सं. २००४ सालसम्म कम्युनिस्ट थिए ।

‘मनमोहनको संगतबाट गिरिजा पाँच वर्षसम्म कम्युनिस्‍ट भएका थिए’, मनमोहन स्मृति प्रतिष्ठानले ललितपुरको सानेपामा गरेको स्मृतिसभामा बोल्दै ओलीले भने, ‘गैरकम्युनिस्‍टलाई पक्राउ गरेको भ्रममा पारेर दाजु बीपी कोइरालालाले गिरिजालाई कांग्रेसमा लगेका थिए ।’

ओलीले यसअघि पनि कांग्रेका संस्थापक नेताहरु कम्युनिस्ट भएको र हुन खोजेको बताउँदै आएका थिए । कांग्रेस चुनावमा पराजित भएपछि ओलीले बीपी र गणेशमान बाँचिरहेका भए एमालेमा आइसक्थे भन्दै ब्यंग्य गरेका थिए ।

ओलीले नेपाली कम्युनिस्ट आन्दोलनमा मनमोहनको योगदान अतुलनीय रहेको पनि बताए । ‘कम्युनिस्‍ट पार्टी स्थापनाको सात वर्ष पहिले नै मनमोहन भारतको जेलमा बस्नु भएको थियो’, ओलीले भने, ‘मनमोहन कहिल्यै बिचलित हुनुभएन । उहाँ एक अविचलित आस्था र निरन्तरताको धरहरा हुनुहुन्थ्यो ।’

प्रधानमन्त्री ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने पनि जिकिर गरे । यो खबर आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *