सुन काण्डमा पूर्व डिआईजी निरौलासँग बयान लिईयो, थप तीन प्रहरी अधिकारी विरुद्ध मुद्दा दर्ता

Sharing is caring!

वैशाख १४, २०७५ । बहुचर्चित साढे ३३ केजी सुन प्रकरणमा मुछिएका थप तीन प्रहरी अधिकारीलाई मोरङ ल्याइएको छ । उनीहरुलाई बिहीवार जिल्ला अदालत, मोरङ पेश गरिएको हो । पक्राउ गरेका प्रहरी अधिकारीहरु प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई म्याद थप गर्नका लागि जिल्ला अदालत, मोरङ पेश गरिएको हो । तीनै जनामाथि संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको प्रहरी स्रोतले बताएको छ ।

साढे ३३ केजी सुनका मालिक गोरे भनिने चुडामणि उप्रेतीसँग शंकास्पद सम्बन्ध भएको निष्कर्षसहित उनीहरुलाई छानबिन समितिले बयानपछि नियन्त्रणमा लिएको थियो । यसअघि गत आइतवार नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौलालाई पनि बयानपछि नियन्त्रणमा लिएको थियो । उनीमाथि पनि संगठित अपराध र कर्तव्य ज्यान अन्तरगत मुद्दा चलाइएको छ । निरौलासँग बयान लिन शुरु भएको छ ।

काठमाडौंबाट सोमवार विराटनगर झिकाइएका पूर्व डिआइजी निरौलालाई प्रहरीको टोलीले शुरुआतमा अनुसन्धान तथा सोधपुछ गरेलगत्तै विराटनगरस्थित सरकारी वकिलको कार्यालयले बयान लिन शुरु गरेको हो । सरकारी कार्यालयका न्यायाधिवक्ता पुण्य पाठकका अनुसार पूर्व डिआइजी निरौलासँग प्रहरी सेवासँग जोडिएका बाहेक, सुन र सनम हत्या प्रकरणको बयान लिने कार्य सकिएको हो ।

गत माघ ७ गते यूएईबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । हराएको सुन खोज्ने क्रममा भरिया शाक्यलाई यातना दिएर हत्या गरिएको अनुसन्धानले देखाएको छ । घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । सुन गायब र हत्यामा प्रहरीकै मिलेमतो रहेको आशंकामा अनुसन्धानका लागि गृह मन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानविन समिति गठन गरेको छ । घटनामा संलग्न हालसम्म २२ जना पक्राउ परिसकेका छन् भने २१ जना फरार रहेको प्रहरीले बताएको छ । यो खबर आजको आर्थिक अभियानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *