भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन बाह्रबिघामा

Sharing is caring!

वैशाख १४, २०७५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणलाई भव्य बनाउन प्रदेश २ सरकारले तयारी थालेको छ । बाह्रबिघामा उनको नागरिक अभिनन्दन गर्ने योजना छ ।

मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले मंगलबार पत्रकारसम्मेलन गरी मोदीको भ्रमणका लागि तयारी थालेको बताए । मोदी २८ वैशाखमा जनकपुर आउने उनको भनाइ छ । भारतीय प्रधानमन्त्री मोदीको सोही दिन अभिनन्दन गरिनेछ ।

पत्रकारसम्मेलनमा मुख्यमन्त्री राउतले भने, ‘भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउने निश्चत भइसकेको छ, सम्भवतः ११ मेमा उहाँको जनकपुर भ्रमण हुन्छ ।’ मोदीले जनकपुरको जानकी मन्दिरमा दर्शन गर्ने पनि उनले जानकारी दिए । नागरिक अभिनन्दनअघि मोदीले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ ।

मोदी बिहान करिब ९ बजे हेलिकोप्टरमार्फत जनकपुर आउनेछन् । तीनवटा हेलिकोप्टर जनकपुर आउने र बाह्रबिघामै अवतरणको व्यवस्था मिलाइएको प्रदेश सरकारले जनाएको छ । यसअघि तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुर भ्रमणमा आउँदा त्यतिवेलाको जनकपुर अञ्चल प्रहरी कार्यालयको मैदानमा हेलिकोप्टर अवतरण गराइएको थियो ।

भ्रमणलाई व्यवस्थित गर्न जनकपुर सरसफाइ र सिँगारको काम सुरु भइसकेको आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । जनकपुरका सडक सरसफाइ गर्ने तथा जानकी मन्दिर र बाह्रबिघा सजाउने काम पनि सुरु भइसकेको यादवले जानकारी दिए । सफाइ र सज्जाका लागि जनकपुर उपमहानगरपालिकाले पनि सहयोग गर्ने उनले बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *