माइभ्याली गोल्डकप: थ्रीस्टार सेमिफाइनलमा

Sharing is caring!

वैशाख १३, २०७५ । विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौलाई पछि पार्दै थ्रीस्टार क्लब इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम क्वाटर फाइनलमा पुलिस क्लबलाई ४–३ गोल अन्तरले हराउँदै थ्रीस्टारले सेमिफाइनलका लागि आफ्नो यात्रा सुनिश्चित गरेको हो । सो जीतसँगै थ्रीस्टारले शनिबार हुने सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपिएफसँगको भेट पक्का गरेको छ ।

निर्धारित समयमा दुवैतर्फबाट एकएक गोल भएपछि १५ मिनेट समय थप गरिएको थियो । थप समयमा पनि कुनै गोल हुन नसकेपछि टाइ बे्रकरका आधारमा नतिजा लिइएको थियो । पुलिसका तर्फबाट २७ औंँ मिनेटमा अग्रता लिइएको थियो । नीरकुमार राईको पासलाई सदुपयोग गर्दै रेजिन सुब्बाले सहजै जाली चुमाएका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको थ्रिस्टार दोस्रो हाफमा भने खेलमा फर्कियो । थ्रीस्टारले ७३ औंँ मिनेटमा जवाफी गोल फर्कायो । फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै थ्रीस्टारका रजिन धिमाले सहजै जाली चुमाएका थिए ।

टाइ बे्रकरमा थ्रीस्टारका कप्तान निराजन खड्का, विमल घर्ती मगर, रजिन र रुपेश केसीले गोल गरे । सुनिल बलको प्रहार भने पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरे ।

पुलिसका तर्फबाट भने रेजिन, तेज तामाङ र दिनेश राजवंशीले मात्र गोल गरे । सुमन लामा र हेम तामाङको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले उत्कृष्ट बचाउ गर्दै टोलीलाई अघिल्लो चरण उक्लिन मद्दत गरे । खेलको ‘म्यान अफ दि म्याच’ समेत न्यौपाने नै घोषित हुँदै रु १० हजार र चाँदीको पदक प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *