नक्कली ड्राइभिङ लाइसेन्स प्रकरणमाथिको अनुसन्धान अघि बढ्दै

Sharing is caring!

वैशाख १७, २०८१ । नक्कली ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमति पत्र) प्रकरणमाथिको अनुसन्धान अगाडि बढेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान अगाडि बढाएसँगै दुई इन्जिनियर पक्राउ परेका छन् ।

सिआईबीका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याल पक्राउ परेका छन् । सिआईबीले अर्याललाई शनिबार राति पक्राउ गरेको हो ।

यातायात व्यवस्था विभागबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग हुँदै कम्प्युटर इन्जिनियर अर्यालको अख्तियारमा सरुवा भएको थियो । सूचना प्रविधि विभागबाट केही समय अगाडि मात्रै तीन महिनाका लागि अख्तियारमा सरुवा भएका थिए । नक्कली लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको अनुसन्धान तामेलीमा लान गिरोहले नै सेटिङमा अर्यालको सरुवा गरेको आशंका अनुसन्धान अधिकृतहरुको छ ।

सिआईबीले यातायात व्यवस्था विभागमा करारमा कार्यरत कम्प्युटर इन्जिनियर हरिश भट्टलाई पनि नियन्त्रणमा लिएको छ । भट्ट पक्राउ परेलगत्तै अर्याल पनि पक्राउ परेका हुन् ।

सीआईबीले नक्कली लाइसेन्स वितरणबारे थप अनुसन्धान गर्न भट्ट र अर्याललाई नियन्त्रणमा लिएो हो । यातायात व्यवस्था विभागको आन्तरिक छानबिनबाट विगत १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको खुलेको छ ।

पछिल्लो १० वर्षमा ३५ वटा यातायात कार्यालयबाट १ लाख २ हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नदिइकनै लाइसेन्स लिएको देखिएपछि विभागले छानबिन गरेको थियो । यस सम्बन्धमा सीआईबीले अनुसन्धान अगाडि बढाएको हो । अनुसन्धान अघि बढेसँगै भट्ट र अर्याल पक्राउ परेका हुन् ।

लिखित र ट्रायल बिनै प्रणालीभित्र छिरेर सर्वसाधारणको डाटामा हेरफेर गरेर फर्जी लाइसेन्स जारी गरेको प्रकरणमा सीआईबीले विभागका पूर्व करारका कर्मचारी भट्टलाई पक्राउ गरे लगत्तै अर्याल पक्राउ परेका हुन् । अर्यालले यातायात व्यवस्था विभागमा तीन वर्ष काम गरेका थिए ।

सीआईबीले छुट्टै टिम बनाएर नक्कली ड्राइभिङ लाइसेन्स प्रकरणमाथिको अनुसन्धान गरिरहेको छ । यातायात व्यवस्था विभागले पत्राचार गरेपछि गत वर्ष फागुन पहिलो साताबाटै सीआईबीले अनुसन्धान थालेको थियो ।

नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभाग आफैँले गरेको आन्तरिक छानबिनका क्रममा ६ किसिमका शंकास्पद लाइसेन्स फेला पारेका थिए । त्यस्तो लाइसेन्स वितरण गर्नेहरुका सम्बन्धमा सीआईबीले अनुसन्धान केन्द्रीत गरेको छ ।

विभागको छानबिनका क्रममा एक लाख दुई हजार लाइसेन्स नक्कली रहेको पाइएको थियो । जसमध्ये करिब ७३ हजार ५०० वटा वितरण भएको अनुसन्धानले देखाएको थियो ।

छानबिनका लागि विभागले तत्कालीन प्रविधि निर्देशक मुकेश रेग्मीको नेतृत्वमा शाखा अधिकृत अर्जुन अधिकारी, डाटा एडमिनिस्ट्रेटर सविन श्रेष्ठ तथा सीआईबीका डीएसपी तपनकुमार दाहाल र कम्प्युटर इन्जिनियर बोधराज बराल सदस्य रहेको समिति बनाएको थियो । उक्त समितिले विभागका १० जना पूर्वमहानिर्देशकका पालामा अनियमितता भएको देखाएको हो । नक्कली लाइसेन्स प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छुट्टै अनुसन्धान गरिरहेको छ । यो खबर मध्यान्हबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *