नक्कली सुन किलोका किलो: तीन पक्राउ, एक फरार

Sharing is caring!

कात्तिक २१, २०७५ । टेकुबाट सोमबार बिहान निस्केको एउटा गाडीमा चालकसहित पाँच जना सवार थिए । उनीहरू ३५ लाखमा एक केजी सुन किन्न निस्केका थिए ।

सुन बेच्नेले उनीहरूलाई सुरुमा कोटेश्वर बोलायो, फेरि सातदोबाटो। सुरक्षाका कारण भन्दै बारम्बार स्थान बदलिरह्यो। थिमि, सूर्यविनायक हुँदै अन्तिममा झन्डै ३ बजेतिर ताथलीमा दुई टोलीको भेट भयो। भेट्नासाथ सुन किन्न आएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्यो। ग्राहकको भेषमा पुगेकाहरू खासमा महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी थिए– एक डीएसपी, दुई सई, एक जवान र एक चालक। प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। एक जना भने भागेका छन्। ‘सानो टोली हुँदा एक जना भागे पनि अन्यलाई सजिलै नियन्त्रणमा लियौं,’ एक प्रहरीले भने।

महाशाखाले ललितपुर, सातदोबाटोका राजेन्द्र तामाङ, ढोलाहिटीका राजकुमार तामाङ र मातातीर्थका राजु लामालाई पक्राउ गरेको छ। यो गिरोहले संगठित रूपमै नक्कली सुनको कारोबार गर्दै आएको खुलेको छ। महाशाखाका अनुसार राजकुमार यसअघि पनि ठगी मुद्दामा प्रहरी परिसर ललितपुरबाट दुईपटक र महानगरीय अपराध महाशाखाबाट एकपटक पक्राउ परी कैद सजाय भुक्तान गरेका व्यक्ति हुन्।

दुबई मेड लेखिएको एक केजी सक्कली सुनको औसत बजार मूल्य ४५ देखि ५० लाख पर्छ। उक्त गिरोहले दुबई मेड नै लेखिएको छाप हानेर नक्कली सुन बेच्दै आएको छ।

महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीका अनुसार गिरोहले सुन किन्न एकान्तमा बोलाउने र नक्कली भन्ने थाहा पाएर किन्न नचाहे रकम लुटेर भाग्ने गथ्र्यो।

प्रहरीले सक्कली सुनको संगठित तस्करीमाथि कडाइ गरेपछि पछिल्ला महिना नक्कली सुनको कारोबार सतहमा आउन थालेको छ। उप्रेतीका अनुसार अहिले नक्कली सुन बेच्ने वा त्यसैको आवरणमा लुट धन्दा मच्चाउने अनेकन गिरोह सक्रिय छन्।

असार अन्तिम साता स्वयम्भू प्रहरी वृत्तले सीतापाइलाबाट ९ किलो सुन बरामद गरेको सूचना सार्वजनिक भयो। तर परीक्षण गर्दा बिस्कुट आकारको उक्त धातु सुन नभएको खुल्यो। विशेष सूचनाका आधारमा प्रहरीले सीतापाइलास्थित एक टमाटर फार्मभित्रको सानो टहरोबाट नक्कली सुनसहित काभ्रेका साइमन सोनामलाई पक्राउ गरेको थियो। बरामद धातुमा सक्कली सुनजस्तै लोगो अंकित थियो। सुन सक्कली नभएको पुष्टिपछि प्रहरीले साइमनमाथि ठगी अभियोगमा मुद्दा चलाएको थियो।

नक्कली सुन कारोबारको अर्को पर्दा खुल्यो, ६ वैशाखमा। भक्तपुर, सूर्यविनायकका राजेन्द्र थापा गत वर्ष पुस २३ मा २८ लाख ६० हजार रुपैयाँ बोकेर साथीसँग नागार्जुनको सेतो गुम्बा जाने बाटोमा पुगेका थिए। उनी रामेछाप, दोरम्बा स्थायी घर भई भक्तपुर, सल्लाघारी बस्ने अजय तामाङ, विष्णु मोक्तान, झापा घर बताउने कर्ण लिम्बू र अर्का एक जनासँग एक केजी सुन किनेर फर्किए।

करिब १५ लाख रुपैयाँ फाइदा हुने लोभमा सुनमा लगानी गरेका थापा झसंग भए, जब सुन पसलेबाट उक्त सुन नक्कली भएको थाहा पाए। ऋण काढेर किनेको सुन नक्कली भएपछि उनी सोही गिरोहको खोजीमा लागे। उपाय नलागेपछि प्रहरीमा पुगेका थिए। दुई महिना अनुसन्धानपछि प्रहरीले अजय र विष्णुलाई पक्राउ गरेको छ।

कर्णसहित अर्का एक फरार छन्।गत जेठ १८ मा अर्को घटना सार्वजनिक भयो। प्रहरीले गोंगबुबाट पोखरा जान लागेका ओमनाथ देवकोटाको साथमा रहेको एक किलो सुन दुई मोटरसाइकलमा आएका तीन युवाले लुटेको सूचना पायो। एक ट्याक्सी चालकले प्रहरीलाई खबर गरेका थिए।

महानगरीय प्रहरी वृत्त महाराजगन्जले अनुसन्धानपछि पत्तो पायो– गोंगबु बस्ने कुमार केसीले सोनाम भनिने नेमजुङ तामाङसँग एक किलो सुन खरिद गर्ने सहमति गरेका रहेछन्। उनीहरूबीच तत्काल दस लाख र बाँकी रकम बिक्रीपछि दिने सहमति रहेछ। देव भनिने कोतबहादुर तामाङले सुन खरिद गर्ने ग्राहक खोजेर सोनामलाई भेटाइदिएका थिए।

कामको सिलसिलामा पोखरा रहेका कुमारले सुन किन्न आफ्ना साथी ओमनाथ देवकोटालाई बैंकमार्फत ९ लाख ५० हजार रुपैयाँ पठाइदिए। ओमनाथ सुन किनेर ट्याक्सीमा पोखरा फर्किंदै गर्दा दहचोकमा लुटियो।

अनुसन्धानमा ग्राहक खोज्ने काममा लागेका कोतबहादुरले नै सुन बिक्रीपछि लुट्ने योजना बनाएको तथ्य खुल्यो। प्रहरीका अनुसार उनले साथी नवीन गुरुङ, निमा लामा, राजीवकुमार बोलोन, अर्जुन तामाङ र बानसन श्रेष्ठसँग मिलेर लुट्ने योजना बनाएका रहेछन्। जब प्रहरीले चपलीस्थित एक घरको पछाडिपट्टि ढुंगामुनि लुकाइएको सुन फेला पार्‍यो, थाहा भयो– सक्कली ठानेर गरिएको सुन किनबेच र लुटपाट नक्कली सुनकै कारोबार रहेछ। महाराजगन्ज वृत्तका डीएसपी योगेन्द्र थापाका अनुसार किन्नेले पनि सक्कली सुन नै ठानेर लगानी गरेको देखिन्छ। लुट्ने गिरोहले पनि सक्कली सुन नै ठानेर लुटपाट योजना बनाएको देखिन्छ।

बेचबिखनमा प्रयोग भएको नक्कली सुन धेरैजसो नेपालमै बनेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए। उनका अनुसार पित्तल वा फलाममा पहेंलो लेप लगाई सक्कली सुनजस्तै होलमार्क बनाइएको छ। ‘केहीले नक्कली सुन छिमेकी भारतको सिलिगुडीबाट समेत किनेर ल्याएको देखियो,’ उनले भने।यो खबर कान्तिपुरबाट लिएका हौ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *