काठमाडौंको धुलोले बच्चामा पनि दमको रोग

Sharing is caring!

कात्तिक २१, २०७५ । सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानका सडक सद्दे छैनन् । भत्काइएका सडक समयमै मर्मत नगरिनु, समयमै सडक मर्मत र विस्तार कार्य सम्पन्न नहनु, सवारीसाधनको चाप अत्यधिक हुनु र विशाक्त धुवाँ फ्याँक्ने पुराना यातायातका साधन विस्थापन नहुनाले उपत्यकावासी वर्षौदेखि धुलो र धुवाँबाट आजित छन् ।

धुलोका कारण बच्चादेखि वृद्धवृद्धासमेत प्रभावित भएको चिकित्सकहरूको भनाइ छ । ‘अहिले वृद्धवृद्धा र तन्नेरी मात्र होइन, बच्चामा पनि दमको समस्या अत्यधिक पाइएको छ,’ छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बमले भने, ‘धुलोले जनताको स्वास्थ्यमा यति गम्भीर असर गरेको छ कि यसलाई कसैले गम्भीरतापूर्वक लिएकै छैनन् ।’

श्वासप्रश्वासका बिरामीको संख्या धेरै
केही वर्षअघिको तुलनामा अस्पताल आउने श्वासप्रश्वासको समस्या भएका बिरामीको संख्या अत्यधिक बढेको डा. बमले बताए । ‘जुनसुकै अस्पतालमा जानुहोस्, श्वास–प्रश्वासका रोगीको संख्या अत्यधिक पाउनुहुनेछ,’ पूर्व स्वास्थ्य सचिवसमेत रहेका बमले भने । त्यस्तै, धुलो धुँवाबाट उपत्यकावासी मात्र होइन, केही दिनको कामका लागि राजधानी आउने मानिससमेत प्रभावित रहेको उनले सुनाए ।

बच्चालाई अरू नै समस्स्या भएर उपचारका लागि काठमाडौं ल्याउँदा यहाँको धुलोले थप विरामी भएकाको संख्या पनि धेरै रहेको उनको भनाइ छ । त्यसैगरी, उद्योग, कलकारखानामा काम गर्ने, सिमेन्टको काम गर्ने कम उमेरकै मजदुर पनि श्वास–प्रश्वासको समस्याबाट पीडित रहेको डा. बमले जानकारी दिए । ‘म कहाँ २०/२५ वर्षका भाइबहिनीहरू पनि दम, निमोनियाको समस्या लिएर आउँछन्,’ उनले भने, ‘उनीहरू निर्माण क्षेत्रमा काम गर्ने मजदुर हुन्छन् ।’

विद्यालय जाँदाआउँदा पनि धुलो खान बाध्य हुन्छन् बालबालिका
विद्यालय जाँदा आउँदा पनि बाटोमा धुलो खान बाध्य हुन्छन् स–साना बालबालिकाहरू । त्यसले गर्दा पनि धेरै केटाकेटीमा श्वासप्रश्वास, निमोनियालगायतको स्वास्थ्य समस्या बढेको डा. बमले बताए । ‘ती साना नानीहरूको के दोष छ, तर जिम्मेवार निकायले लापरबाही गर्दा कलिलै उमेरमा श्वास–प्रश्वासको रोगी बन्न बाध्य भएका छन्,’ उनले भने ।यो खबर नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *