सुकुम्बासीका पक्षमा ओली, डोजर आतंक बन्द गर्न आग्रह

Sharing is caring!

वैशाख २०, २०८१ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द गर्न आग्रह गरेका छन् । उनले सुकुम्बासीहरुको व्यवस्थापनका लागि तीनै तहको सरकार उत्तरदायी हुनुपर्ने बताए ।

बिहीबार महिला सशक्तिकरण, सांस्कृतिक तथा व्यापार महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भत्काउने नभइ बनाउने अभियान चलाउनुपर्ने बताए ।

उनले भने, ‘सुकुम्बासी बस्तीमा हामीले डोजर देखाएर आतंक फैलाइरहेका छौं । डोजर चलाउन बन्द गरेर उनीहरूको समस्या समाधान गर्न र व्यवस्थापन गर्नतिर लाग्न आवश्यक छ । सुकुम्बासी कहिल्यै पनि विकासका बाधक हुन सक्दैनन् । उनीहरुलाई व्यवस्थापनका लागि लाग्न आवश्यक छ ।’

जनताका समस्या समाधानका लागि कर्मचारीतन्त्र बाधक भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले गरिबविरुद्ध डोजर चलाउन रोक्नुपर्ने बताए ।

उनले भने, ‘अहिले हामी सरकारमा आएका छौं । तर विभिन्न वहानामा कर्मचारीतन्त्र बाधक बनिरहेका छन् । जनताका समस्याप्रति जिम्मेवार बन्न आग्रह गर्न चाहन्छु । लोकतन्त्रमा जे पनि गर्न मिल्दैन । सुकुम्बासी समस्या व्यवस्थापन गर्नुपर्छ र समाधान गरेर जानुपर्छ ।’

आफू प्रधानमन्त्री हुँदा भोकमरीले कोही पनि मर्न नदिने कसमको खाएको उल्लेख गर्दै उनले सरकारले सबैभन्दा बढी जोड गरिबी निवारणमा दिएको र दिनुपर्ने औंल्याए ।

उनले भने, ‘सरकारले सबभन्दा बढी जोड गरिबी निवारणमा दिनुपर्दछ । मंैले प्रधानमन्त्री हुँदा भनेको थिए भोकमरीले कोही मर्दैनन् । अर्कोपटक प्रधानमन्त्री हुँदा पनि गरिबी निवारणका लागि धेरै काम गरेको छु । सडकमा मान्छे भोकै सुत्दापनि सरकार चलाएको छु भन्न मिल्छ ? देश र जनताले भोगिरहेका समस्याप्रति गम्भीर हुन म सबैलाई आग्रह गर्दछु । सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्दछ । जहाँसुकै जाउ भन्न मिल्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *