फोनकै भरमा सम्बन्ध विच्छेद

Sharing is caring!

जेठ ११, २०७५ । महोत्तरी गाउँपालिका–१ पर्साकी २० वर्षीय रंगिला कुमारी दाससँग २ वर्षअघि सामाजिक परम्पराअनुसार धनुषा बटेश्वर गाउँपालिका–५ का २६ वर्षीय सुकेश्वर दासले विवाह गरी १५ दिनमै विदेश गए ।

श्रीमती रंगिलासँग १५ दिन बसेर विदेश गएका सुकेश्वर घर फर्केका छैनन् । तर, ६ महिनाअघि रंगिला र सुकेश्वरबीच सम्बन्ध विच्छेद भइसकेको छ ।
सुकेश्वर विदेशमा रहेका बेला रंगिलालाई जेठाजु मोहन दासले घरमा कुटपिट गरेपछि प्रहरीमा उजुरी परेको थियो । प्रहरी कार्यालयमा उजुरी परेपछि सुकेश्वरले फोनमा आफू रंगिलासँग नबस्ने बताएपछि दुबैका परिवारले विवाह खर्च लेनदेन गरी प्रहरी कार्यालयमै सम्बन्ध विच्छेद गराएका थिए ।
सम्बन्ध विच्छेदको साक्षी जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेल हो । दाइजो फिर्ता नपाएपछि रंगिलाका बुवा रंजित बिहीबार जिल्ला प्रहरी कार्यालयमा आइपुगेका थिए ।
जिल्ला प्रहरी कार्यालयको महिला सेलमा बिहीबार अर्को यस्तै प्रकृतिको घटनाको छलफलमा चर्काचर्की भइरहेको थियो । धनुषा गणेशमान चारनाथ नगरपालिका गोदारका २५ वर्षीय काशिन्द्र ठाकुरले तीन वर्षअघि २१ वर्षीया सुरेखा ठाकुरसँग विवाह गरे ।
विवाह गरेको एक महिनामै बैदेशिक रोजगारीका लागि काशिन्द्र विदेश उडे । विदेश बस्दा मोबाइलमा अश्लिल दृश्य ठपाएर जथाभावी गाली गर्दा सुरेखासँग झैझगडा हुने गरेको थियो । विदेशबाट तीन महिनाअघि घर फर्केपछि श्रीमतीसँग सम्बन्ध बिग्रिएको जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलले जनाएको छ ।
काशिन्द्रले मदिरा सेवन गरी निर्घात कुटपिट गरी घरबाट निकालेको उजुरी जिल्ला प्रहरी कार्यालयको महिला सेलमा परेको छ । दुई पक्षबीच बिहीबार छलफल भएको थियो ।
महिला सेलमै बिहीबार श्रीमान् विदेश गएर श्रीमती समस्यामा लक्ष्मिनियाको घटना थियो । धनुषा लक्ष्मिनियाका ३५ वर्षीय वीरेन्द्र यादव १८ वर्षीया ज्योती यादवसँग विवाह गरी तीन वर्षदेखि बैदेशिक रोजगारमा छन् । श्रीमान् विदेश गएपछि सासू र परिवारले दुब्ली भएको भन्दै यातना दिएपछि ज्योती माइत बस्दै आएकी छन् ।
श्रीमान् आएपछि घर फर्किने सोच बनाएकी ज्योतीलाई श्रीमानले फोनमा टर्चर गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी गरेका छन् । विदेशबाट श्रीमान् फोन गरी सम्बन्ध विच्छेद गर्न दबाब दिँदै आएका छन् ।
समाजिक परम्पराअनुसार विवाह भए पनि परिवार र श्रीमान् विदेशबाट फोन गरी यातना दिने गरेपछि दुई पक्षबीच बिहीबार महिला सेलमा छलफल भएको थियो ।
जिल्ला प्रहरी कार्याल धनुषाको महिला सेलमा यस्तै प्रकृतिका घटनाले प्राथमिकता पाउँछ । अधिकांश घटना श्रीमान् विदेश गएपछि श्रीमतीलाई कुटपिट भएको, श्रीमतीले पर पुरुषसँग सम्बन्ध बनाएको, अनमेल विवाहका कारण समस्या भएको, बाल विवाहका कारण परिवारमा मिल्न नसकेको समस्याले भीड लाग्ने गरेको महिला सेलको काउन्सलर एवं पूर्व प्रहरी शुभद्रा आले बताउँछिन् ।
विवाह गर्नासाथ श्रीमान् विदेश जाँदा श्रीमतीको बिच्चली हुने गरेको, शुभद्राले भनिन्, ‘श्रीमान् विदेश गएपछि नवविवाहित महिला जेठाजु, सासू, ससुरा, देवरबाटै असुरक्षित भएका छन् ।’
अनमेल विवाह, बालविवाह र दाइजो लिएर विवाह गरेपछि केही दिनमै दुलहीले यातना पाएर उजुरी दिने क्रम बढदो रहेको उनले बताए ।
महिला हिंसा न्युनीकरणका लागि जनचेतनामूलक सन्देश तथा प्रचारप्रसार भए पनि ग्रामीण गरिब, दलित तथा अशिक्षित वर्गमा अझै महिला हिंसाको घटना बढदो छ । प्रहरी कार्यालयमा आएको हिंसाका घटनामा कारबाहीभन्दा पनि मेलमिलापमा जोड दिने भएकाले दिनानुदिन महिला हिंसाको घटना बढदै गएको छ ।यो खबर आजको कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *