दूधको तर मारेर करोडौं घोटाला

Sharing is caring!

जेठ ११, २०७५ । दुग्ध विकास संस्थान (डीडीसी)का अध्यक्ष स्वयंले नै कर्मचारीले दूधमा तर मारेर करोडौं रुपैयाँ घोटाला गर्ने गरेको दाबी गरेका छन्। संस्थानले बजारमा ल्याएको डीडीसी ब्रान्डको दूधमा ३ प्रतिशत फ्याट हुनुपर्नेमा दुई दशमलव आठ प्रतिशत मात्र रहेको पाइएपछि संस्थानका अध्यक्ष रघु गौतमले यस्तो अभिव्यक्ति दिएका हुन्।

‘दूधमा तरको परिमाण २.८ भेटियो। यो तोकिएको मापदण्डभन्दा कम हो। यो ठगी हो नै’ अध्यक्ष गौतमले अन्नपूर्णसँग स्विकारे, ‘डीडीसीको दूधमा एक लाइनदेखि १० लाइनसम्म तर मार्ने चलनै छ। लाइन मारेको तरबाट घिउ बनाएर बाहिरी बजारमा गुपचुप बिक्री हुने गरेको पाइयो।’ वर्षौंदेखि यसरी करोडौं रुपैयाँ घोटाला भइरहे पनि सरोकारवाला निकायले गम्भीर छानबिन गर्न भने सकेको छैन। किसानबाट दूध खरिद, प्रशोधन र प्याकेजिङको समयमै छापा मारेर नमूना परीक्षण हुन नसकेका कारण यस्तो भएको सरोकारवालाको भनाइ छ।

प्रशोधित दूधमा कम्तीमा चिल्लोपनबाहेक ठोस पदार्थ (एसएनएफ)को मात्रा आठ र घृतांश वा तर (फ्याट)को मात्रा ३ प्रतिशत अनिवार्य हुनुपर्ने मापदण्ड बनाइएको छ। आठ प्रतिशत एसएनएफ र तीन प्रतिशत तर भएको दूधलाई मात्रै गुणस्तरीय मानिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए। ‘दूधमा योभन्दा कम परिमाणमा एसएनएफ र फ्याट देखियो भने त्यो न्यून गुणस्तरभित्र पर्छ’, उनले भने, ‘यस्तो दूध र पानी खानु उस्तै हो।’

विभिन्न समयमा डीडीसी र निजीक्षेत्रका डेरी उद्योगको दूधको गुणस्तर परीक्षण गर्दा धेरैपटक २.६ देखि २.९ प्रतिशतसम्मको हाराहारीमा मात्रै तरको उपस्थिति भेटिएको विभागको भनाइ छ। डीडीसीका कर्मचारीले ‘नियत’वश दूधको तरमा लाइन मारेर अनैतिक रूपमा आर्थिक उपार्जन गर्न सक्ने वरिष्ठ खाद्य वैज्ञानिक सुमन धितालले बताए।

चैत २४ गते डीडीसीमा मारिएको छापाले पनि यही तथ्यलाई पुष्टि गरेको छ। डीडीसी सञ्चालक समितिले धेरै दिनदेखि दूधको फ्याटमा लाइन मार्ने काम भइरहेको गोप्य सूचना पाएको थियो। सोही सूचनाका आधारमा सञ्चालक समितिको विशेष टोलीले बालाजुस्थित दुग्ध विकास वितरण आयोजनामा छापा मारेको थियो। छापा मारेर डीडीसीको आन्तरिक प्रयोगशालामा बजारमा जाने तयारीमा रहेको दूधको नमूना परीक्षण गरियो। यसमा दूधमा तरको उपस्थिति २.८ प्रतिशत मात्रै भेटियो। बालाजु दुग्ध वितरण आयोजनाबाट दैनिक करिब एक लाख लिटर स्ट्यान्डर्ड दूध बिक्री हुँदै आएको छ।

छापापछि समितिले तरमा लाइन मारेर घोटाला भएको प्रारम्भिक निष्कर्ष पनि निकाल्यो। त्यसपछि समितिले सात दिनको समय दिएर व्यवस्थापन पक्षलाई तरमा लाइन मार्ने कर्मचारी र मिलेमतोका विषयमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन उपलब्ध गराउन निर्देशन पनि दियो। तर व्यवस्थापन पक्ष र सञ्चालक समितिको मिलेमतोमा सामसुम पारी यो घटना बाहिर लैजान नदिने चलखेल पनि सुरु भएको छ। ‘तरमै लाइन मारेर करोडौं रुपैयाँ घोटाला भएको थाहा पाउँदा आश्चर्य लाग्यो। पहिले त हामी आफैंले बुझ्न समय लाग्यो’, सञ्चालक समितिका एक सदस्यले भने, ‘बुझिसकेपछि बालाजुस्थित दुग्ध वितरण आयोजनामा छापा मार्‍यौं। हामीले पाएको सूचना सही सावित भयो। यस विषयमा थप छानबिन भइरहेको छ।’

बालाजुस्थित दुग्ध विकास वितरण आयोजनाका प्रमुख राजेन्द्र अधिकारीले पनि आयोजनामा सञ्चालक समितिले छापा मारेको स्विकारे। ‘संस्थान अध्यक्ष गौतमको नेतृत्वमा बालाजु आयोजनामा अनुगमन भएको थियो। उक्त समयमा अध्यक्षज्यूले प्रयोगशालाका कर्मचारीमार्फत ल्याक्टो मिटरको प्रयोग गरी दूधको तरको विषयमा पनि परीक्षण गराउनुभएको थियो। त्यसपछि के भयो, मलाई थाहा भएन’, उनले भने। अनुगमन टोलीले प्याकेजिङ गर्ने प्लास्टिकको गुणस्तरका विषयमा पनि कार्यरत कर्मचारीसँग जानकारी लिएका थिए। यो खबर आजको अन्नपुर्ण पोस्टमा राजेश बर्माले लेख्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *