नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध फिल्डिङ गर्दै

Sharing is caring!

वैशाख २०, २०८१ । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो मैत्रीपूर्ण टी २० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर वेस्ट इन्डिजका कप्तान रोस्टन चेजलेले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

५ खेलको जारी शृंखला बराबरी गर्न आज नेपाललाई जित्नै पर्ने दबाब छ ।

तीन खेल खेलेको नेपालले तीनमध्ये दुई खेलमा हार र एक खेलमा मात्रै जित निकालेको थियो । शनिबार भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

आजको खेलमा वेस्ट इन्डिज ‘ए’ ले जित निकाले अन्तिम खेलअगावै शृंखलाको उपाधि जित्नेछ भने नेपाललाई चौथो खेल जितेर बराबरी गर्ने मौका पनि छ ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी –२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिजबीच मैत्रीपूर्ण खेल नेपालमा भइरहेको हो।

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यही समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । वेष्ट इण्डिज भने समूह ‘सी’ मा छ। यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगाण्डा छन्।

विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *