उत्पादनको केन्द्रमै देखिँदैनन् स्वदेशी ब्रान्ड: अवैध आयातले बन्द हुँदै चामल उद्योग

Sharing is caring!

भदौ २, २०७६ । बारा र पर्सामा करीब २ सय सानाठूला चामल उद्योग छन् । मुख्य नाका वीरगञ्ज–पोखरिया र पथलैया खण्डमा दर्जनभन्दा बढी ठूलो क्षमताका यस्ता उद्योग सञ्चालित छन् । तर, वीरगञ्ज र आसपासको बजारमा स्वदेशी ब्रान्डका चामल देखिँदैनन् । स्वदेशी बजारमा भारतीय चामलले कब्जा जमाएको छ ।

यहाँका खाद्यान्न पसल र भण्डारमा भारतीय ब्रान्डका चामल किनेबेच हुन्छ । उत्पादनको केन्द्र भएर पनि स्थानीय बजारमा नेपाली ब्रान्डका चामलको कारोबार किन हुँदैन ? विक्रेताको एउटै उत्तर हुन्छ– भारतीय चामल सस्तो छ ।

सीमावर्ती भारतीय बजार रक्सौलमा नेपालको बजारलाई लक्षित गरी पाँच ठूला चामल उद्योग खुलेका छन् । तीमध्ये रिपुराज उद्योगको सीमावर्ती नेपाली बजारमा बढी वर्चस्व छ । ७० प्रतिशतसम्म सरकारी अनुदानमा चलेका यस्ता उद्योगको उत्पादन लागत न्यून छ । ती उद्योगको सस्तो चामल अनधिकृत रूपमा आयात हुँदा स्वदेशी चामल विस्थापित भएको स्वदेशी उद्योगीहरू बताउँछन् ।

नेपाली उत्पादकले सीमाक्षेत्रको बजारमा प्रतिस्पर्धा गर्न नसकेपछि आफ्नो उत्पादनलाई काठमाडौं, पोखरा, नारायणगढ, हेटौंडा लगायत बजारमा केन्द्रित गरेको न्यू ओम खाद्य उद्योगका सञ्चालक विश्वामित्र प्रसाद कलवारले बताए । तर, भन्सार छलेर भित्रिएको भारतीय चामलले ती बजारलाई समेत छोडेको छैन ।

वीरगञ्जको इनर्वा, सिरिसिया, भिस्वा, जानकीटोला लगायत सीमाक्षेत्रबाट दिनहुँ भन्सार छलेर सयौं बोरा चामल भित्रिन्छ । भारततर्फ सीमा सुरक्षा बल र नेपालतर्फ प्रहरीको पहरा छ । तर, चामलको अवैध आयातमा कुनै रोकटोक छैन ।

सिमानामा खटिएका प्रहरीलाई मिलाएर हुने यस्तो अवैध व्यापारबाट ढुवानीकर्ताले प्रतिबोरा ५० रुपैयाँ कमाउँछन् । अवैध आयातकर्ताहरूले एउटा साइकलमा दुईदेखि तीन बोराका दरले ओसार्न लगाउँछन् । एउटा साइकल चालकले दिनमा पाँचपटक मात्र सीमा वारपार गर्दा पनि १०/१५ बोरा चामल भित्र्याउँछ ।

नेपालतर्फ अवैध निकासीकै लागि भारतीय सीमावर्ती क्षेत्रमा घरघरमै जस्तो चामलका गोदाम खोलिएका छन् । त्यहाँ पानपसलमा समेत चामलको व्यापार भइरहेको सहजै देख्न सकिन्छ । ‘साइकलमा ओसारेर वीरगञ्जको आदर्शनगर र रानीघाटमा ल्याउँछन् । यसरी संकलन गरिएको चामल यहाँका व्यापारीले दैनिकजसो ट्रकमा लोड गरेर अन्यत्र पठाउँछन्,’ कलवारले आर्थिक अभियानलाई बताए ।

भारतबाट अवैधरुपमा आयात हुने चामलसँग प्रतिस्पर्धा गर्न नसकेर कति उद्यमीले त उद्योगमा ताला लगाएर आयातमा हात हालेका छन् । ‘स्थानीय प्रशासनदेखि आईजीपी र गृहमन्त्री समेतलाई भनिसक्यौं । उनीहरूले सुनेको नसुन्यै गरे,’ एक उद्यमीले भने ‘पटकपटक आग्रह गर्दा हामीलाई नै लाज लाग्न थालिसक्यो । तर, नियन्त्रणको जिम्मा लिएकाहरूलाई कत्ति पनि लज्जाबोध भएन ।’

स्वदेशी चामल उद्योगको उत्पादन लागत बढी परेकाले आयातित चामलले बजारमा कब्जा जमाएको शिवम् एग्रो इन्डस्ट्रिज प्रालिका सञ्चालक शिवजीप्रसाद कलवार बताउँछन् । यहाँका उद्योगको चामल किलोमा चार रुपैयाँ बढी पर्ने भएकाले भारतबाट चामल भित्रिने उद्योगीहरू बताउँछन् । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *