‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’

Sharing is caring!

वैशाख १६, २०८१ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको बताएका छन् ।

चन्द्रागिरीमा आइतबार मस्र्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेसनको उद्घाटन गर्दै उनले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको दाबी गरे ।

उनले भने, ‘आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको छ । पूर्णरुपमा विद्युतीकरण गर्नसक्ने आधार तयार हुनु एउटा महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो । अहिलेसम्म मुलुकका ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसकेको छ ।’

त्यस्तै उनले नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताए ।

गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित भएको उनको दाबी छ ।

उनले भने, ‘उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु ।’

मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन निर्माण भएसँगै मस्र्याङ्दी नदी करिडोरमा निर्माण भएका र आगामी दिनमा निर्माण हुने आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन सहज भएको छ ।

यो आयोजनाको निर्माणसँगै देशको सबैभन्दा बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुने विश्वास लिइएको छ । देशको एकीकृत विद्युत् प्रणाली थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *