इन्धनमा महिनामै डेढ अर्ब नाफा

Sharing is caring!

पुस ४, २०७५ ।  नेपाल आयल निगमले उच्च दरमा मुनाफा राखेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले मूल्य घटाएर आइतबार सूची पठाएपछि निगमले पनि मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान २–२ रुपैयाँ घटाएको छ । बुधबार बिहानबाट काठमाडौं उपत्यकाका उपभोक्ताले पेट्रोल १ सय १० तथा डिजेल र मट्टीतेल समान ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न पाउँछन् । आइओसीले निगमलाई प्रत्येक महिना १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्छ ।

उपभोक्तालाई प्रतिलिटर २ रुपैयाँ मात्र मूल्य घटाएको निगमले आगामी १५ दिनका लागि ८८ करोड २२ लाख रुपैयाँ नाफा सुनिश्चित गरेको छ । निगम प्रवक्ता वीरेन्द्र गोइतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निगमलाई आगामी १५ दिनमा करिब ८८ करोड २२ लाख रुपैयाँ नाफा हुने देखिन्छ ।’ तेल खरिद मूल्यमा धेरै कमी आए पनि निगम भने उपभोक्ताका लागि मूल्य घटाउन कन्जुस्याइँ गरिरहेको छ । उपभोक्तालाई कम मूल्य घटाएर बढी नाफा राख्न निगम व्यवस्थापन उद्यत देखिन्छ ।

निगम प्रवक्ता गोइतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको दररेटमा आएको गिरावटसँगै मूल्य घटाइएको जानकारी दिएका छन् । ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः केही कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएकाले फर्मुलाबमोजिम नै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो,’ उनले भने ।

निगमलाई महिनामा डेढ अर्ब नाफा
आयल निगमले एक महिनामा करिब डेढ अर्ब नाफा सुनिश्चित गरेको छ । निगमले १७ मंसिरदेखि ३ पुसका लागि निर्धारण गरेको बिक्री मूल्यमा ५६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यतिखेर पनि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएर पेट्रोल १ सय १२ तथा डिजेल र मट्टीतेल ९९ रुपैयाँ प्रतिलिटरमा बिक्री गरेको थियो ।

मंगलबार रातिदेखि लागू नयाँ मूल्यअनुसार अब १७ पुससम्म खरिद–बिक्री हुन्छ । १५ दिनमा ८८ करोड २२ लाख नाफा निकाल्ने लक्ष्य निगमको छ । यसरी एक महिनामा १ अर्ब ४४ करोड ८० लाख नाफा कमाउँदै छ । करिब १० अर्बबराबरको कारोबार गर्दा यो नाफा प्राप्त हुन्छ ।यो खबर नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *