काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र भाइचाराको सन्देश बोकेको यो पर्वले देशभर उत्साह थपेको छ।
पछिल्ला वर्षहरूमा प्रहरीको सक्रियता र जनचेतनाका कारण होली मनाउने शैलीमा सकारात्मक परिवर्तन देखिएको छ। अनावश्यक रूपमा बाटो हिँड्ने सर्वसाधारणलाई रंग तथा लोला हान्ने प्रवृत्ति घटेको छ भने राजधानीका सडकहरू पनि तुलनात्मक रूपमा व्यवस्थित देखिएका छन्। काम विशेषले हिँडडुल गर्ने नागरिकलाई असहज नबनाउने संस्कार क्रमशः विकास हुँदै गएको छ।
काठमाडौंको ऐतिहासिक क्षेत्र वसन्तपुरमा विशेष चहलपहल देखिएको छ। यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगेर दहन गर्ने परम्परा छ। चिरमा राखिएका ध्वजापताका औषधीय गुणयुक्त हुने विश्वासका साथ सर्वसाधारणले लिने गर्दछन् भने खरानीको टीका लगाउने चलन पनि रहेको छ।
परम्पराअनुसार फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि चिर गाडिएसँगै फागु प्रारम्भ हुन्छ। आज राति इटुम्बहालबाट ल्याइएको भात र राँगाको मासु ‘गुरुमापा’ नामक राक्षसलाई अर्पण गरी सैनिक अस्पतालभित्र रहेको ‘जधु’ धारामा चुठाउने नेवारी परम्परा पनि निर्वाह गरिन्छ।
धार्मिक मान्यताअनुसार त्रेतायुगमा हिरण्यकश्यपका पुत्र प्रह्लादलाई मार्न खोज्दा होलिका आफैं अग्निमा भष्म भएको कथा होलीसँग जोडिएको छ। त्यसैगरी द्वापरयुगमा श्रीकृष्णलाई मार्न पठाइएकी पुतना वध गरिएको प्रसंग पनि फागु पर्वसँग सम्बन्धित रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
आयुर्वेदका जानकारहरूका अनुसार प्राकृतिक र सुरक्षित रंगको प्रयोगले छालासम्बन्धी समस्या कम गर्न सहयोग पुग्ने विश्वास छ। साथै चिर दहनबाट निस्कने धुवाँले जाडोयामका केही कीटाणु नष्ट गर्ने जनविश्वास पनि रहेको पाइन्छ।
फागु पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। हिमाल र पहाडमा आज होली मनाइँदा तराईका जिल्लामा भने पूर्णिमाको भोलिपल्ट पर्व मनाउने परम्परा अनुसार भोलि उत्सव मनाइँदैछ।
होलीको अवसरमा केही स्थानमा नशालु पदार्थको सेवन र अवाञ्छित गतिविधि देखिए पनि यस्ता विकृति पछिल्ला वर्षहरूमा घट्दो क्रममा रहेको सरोकारवालाहरू बताउँछन्। सुरक्षित, सभ्य र मर्यादित रूपमा होली मनाउन प्रशासनले आग्रह गरेको छ।
यस पर्वमा परिवार, आफन्त र छिमेकीहरू भेला भई रंग, अबिर, मिठाई र परिकार साटासाट गर्दै नाचगानका साथ रमाइलो गर्ने परम्परा रहेको छ। केही समुदायमा विशेष पोसाकमा सजिएर खेलकुद तथा पारिवारिक जमघटसमेत आयोजना गर्ने चलन छ। सात दिनसम्म चल्ने यो उत्सवले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।