काठमाडौँ । ‘सुरक्षित आकाश’ भन्ने मुख्य नारासहित आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वभर मनाइँदैछ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का सदस्य राष्ट्रहरूमा विशेष कार्यक्रमसहित यो दिवस उल्लासपूर्वक मनाइने गरेको छ।
सन् १९९४ डिसेम्बर ७ मा आइकाओ स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा पहिलोपटक यो दिवस मनाउन थालिएको इतिहास छ। त्यसपछि १९९६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यस दिवसलाई आधिकारिक मान्यता प्रदान गरेपछि विश्वव्यापी रूपमा यस दिनको महत्व झनै बढेको मानिन्छ।
यो दिवसले अन्तर्राष्ट्रिय हवाई सेवामार्फत विश्वका मुलुकहरूबीच भएको सामाजिक र आर्थिक विकासलाई स्मरण गराउँछ। मानव यात्रालाई सुरक्षित, छिटो र सहज बनाउने उद्देश्यले विश्वव्यापी हवाई सञ्जाल निर्माणमा आइकाओले पुर्याइरहेको भूमिकालाई पनि आजकै दिन विशेष रूपमा उल्लेख गरिन्छ।
सन् २०३० का लागि तय गरिएका दिगो विकासका लक्ष्यहरू पूरा गर्ने यात्रामा हवाई सेवा महत्वपूर्ण कडी बनेको भन्दै आइकाओले यस दिवसको महत्व झनै बढिरहेको बताएको छ।