काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी निकट भ्रातृ संगठन समाजवादी युवा संघ, नेपाल को केन्द्रीय समिति गठन तथा राष्ट्रिय भेला गर्ने तयारी अघि बढाएको छ ।
पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार भेला साउन मसान्तभित्र आयोजना गरिने जनाइएको छ । पार्टी प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार भेला तयारीको क्रममा जिल्लाबाट सक्रिय र क्षमतावान युवाको नाम संकलन प्रक्रिया सुरु भइसकेको छ ।
महासचिव लालबाबु राउतले सबै जिल्ला अध्यक्षहरुलाई पत्र काट्दै प्रत्येक जिल्लाबाट ३ जना ४० वर्ष मुनिका युवाको नामावली पठाउन निर्देशन दिएका छन् ।
पार्टीले युवा शक्तिलाई संगठित गर्दै समृद्ध मुलुक निर्माणमा सशक्त योगदान दिने उद्देश्यका साथ राष्ट्रिय भेला गर्न लागेको बताइएको छ। “युवाको शक्ति समाज रुपान्तरणको मेरुदण्ड हो, त्यसैले अबको यात्रामा उनीहरुलाई अग्रपङ्तिमा ल्याउन जसपा अग्रसर भएको छ,” बस्नेतले भने ।
पार्टीले युवालाई संगठित गर्न केन्द्रदेखि जिल्लासम्म सक्रिय तयारी थालेको जनाएको छ ।