काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज(बुधबार) पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै दुवै दलले लगातार संसद अवरोध गर्दै आएका छन् । आजको बैठकमा पनि उनीहरूले आफ्नो बहिष्कार कायम राखे ।
सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा भिजिट भिसासम्बन्धी छानबिन समिति गठन गरे पनि रास्वपाले उक्त समिति अस्वीकार गर्दै आएको छ । उनीहरूको माग गृहमन्त्रीको राजीनामा र संसदीय तहमा स्वतन्त्र छानबिन हो ।
त्यस्तै, संघीय निजामती विधेयक पारित गर्ने क्रममा भएको प्रक्रियागत गडबडीप्रति रास्वपाले आपत्ति जनाउँदै आएको छ । पार्टीले यसबारे पनि स्पष्ट छानबिनको माग गर्दै आएको छ ।
संसदमा जारी अवरोधका कारण प्रमुख विधेयकहरू अघि बढ्न नसकिरहेको छ भने प्रमुख दलहरूबीच सहमतिको पहल अझै निष्कर्षमा पुग्न सकेको छैन ।