काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सबै तहका निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्न वैज्ञानिक, लोकतान्त्रिक र पारदर्शी विधि सार्वजनिक गरेको छ । पार्टीको विधानको भाग १९ र २० मा उल्लेखित लिडरशिप एकेडेमी, उम्मेदवार क्लब र प्रारम्भिक निर्वाचन प्रणाली को मर्म अनुसार तयार गरिएको यो विधि उम्मेदवार छनोटलाई संस्थागत, व्यवस्थित र वस्तुनिष्ठ बनाउने लक्ष्यसहित अघि सारिएको हो ।
पार्टीका अनुसार यो विधिबाट मात्र देश र जनताप्रति प्रतिबद्ध, योग्य र सक्षम उम्मेदवारहरू छनोट गर्न सकिनेछ । यस प्रणालीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने, निर्वाचनमा प्रतिस्पर्धात्मकता बढाउने र आम नागरिकबीच विश्वास निर्माण गर्ने अपेक्षा गरिएको छ ।
रास्वपाको भनाइमा नयाँ उम्मेदवार छनोट प्रक्रिया नेपाली राजनीतिमा पारदर्शिता, जवाफदेहिता र समावेशिता प्रवर्द्धन गर्ने दिशातर्फको ठोस प्रयास हो । पार्टीले नेतृत्व विकासमा लगानी गर्दै अबको राजनीति मूल्य, सिद्धान्त र क्षमतामा आधारित हुने स्पष्ट सन्देश दिएको छ ।