काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीविरुद्ध निरन्तर षड्यन्त्र भइरहेको आरोप लगाउँदै फेरि एकपटक नयाँ विद्रोहको आवश्यकता रहेको बताएका छन्।
दोलखाको ‘बोत्ले हत्याकाण्ड’ स्मृतिमा आइतबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा आएको समयदेखि नै माओवादी पार्टीलाई विभाजन गर्न योजनाबद्ध रूपमा षड्यन्त्र हुँदै आएको दाबी गरे। उनले भने, “शान्ति सम्झौतामा आएसँगै प्रतिक्रियावादीहरूले पटक–पटक हाम्रो पार्टीलाई टुक्र्याउन षड्यन्त्र, जालझेल र लगानी गर्दै आएका छन्।”
उनले पार्टी नेतृत्वले ती सबै षड्यन्त्रको सामना गर्दै अघि बढिरहेको उल्लेख गरे। “एकचोटि फेरि नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अगाडि बढ्दैछौं,” उनले भने, “नयाँ खालको विद्रोहमार्फत प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पकासाथ हिँडिरहेको छु। यसको तयारी म गरिरहेको छु।”
अध्यक्ष प्रचण्डले देशभर हजारौं सहिदको रगत बगेको स्मरण गर्दै अहिले त्यो बलिदान र महानता अपमानित गर्ने प्रयास भइरहेको भन्दै चासो व्यक्त गरे। उनले पार्टीको विरासत जोगाउन सबै क्रान्तिकारी शक्ति एकजुट हुनुपर्ने आवश्यकता पनि औंल्याए।