काठमाडौं । ऐतिहासिक धरहरा अब बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ । सहरी विकास मन्त्रालयका अनुसार साउन १ गतेदेखि धरहराको नयाँ समय तालिका लागू गरिएको हो ।
२०७२ सालको महाभूकम्पले ध्वस्त पारेको धरहरा संविधान दिवसको अवसर पारेर पुनःनिर्माणपछि सर्वसाधारणका लागि खुला गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यकालमा पुनःनिर्माण थालिएको धरहराको उद्घाटन समेत २०७८ साल वैशाख ११ गते ओलीकै हातबाट गरिएको थियो ।
धरहराबाट असार २४ गतेसम्मको अवधिमा ४ करोड ८३ लाख ६५ हजार रुपैयाँ आम्दानी भइसकेको मन्त्रालयले जनाएको छ ।
पार्किङ निःशुल्क, चढ्ने शुल्क यथावत्
धरहरामा सवारीसाधन पार्किङ गर्दा कुनै शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ । धरहरा चढ्नका लागि भने प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क कायम गरिएको छ ।
विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूका लागि शुल्कमा ५० प्रतिशत छुट दिइएको छ, जसअनुसार उनीहरूले धरहरा चढ्न एक सय रुपैयाँ तिर्नेछन् ।
पर्यटकका लागि भने छुट्टै शुल्क दर कायम गरिएको छ । सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति ५ सय रुपैयाँ र सार्कबाहेक अन्य देशका पर्यटकले प्रतिव्यक्ति १ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।