काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नेपालले माध्यमिक शिक्षा परीक्षा (SEE) दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘इन्स्पायर सिरिज’ नामक प्रेरणादायी कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मन्त्रालयका अनुसार यस श्रृङ्खलामार्फत विभिन्न क्षेत्रका सफल तथा प्रेरणादायी व्यक्तित्वहरूको अनुभव, संघर्ष र उपलब्धिका कथाहरू मन्त्रालयका आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सार्वजनिक गरिनेछ।
कार्यक्रम अन्तर्गत माननीय मन्त्रीज्यूको सम्बोधनसमेत समावेश गरिनेछ। यो कार्यक्रम विशेष श्रृङ्खलाका रूपमा नियमित रूपमा प्रसारण गरिने मन्त्रालयले जनाएको छ।
विशेषगरी माध्यमिक शिक्षा परीक्षा SEE दिएका विद्यार्थीहरू नतिजाको प्रतीक्षामा रहेको अवस्थामा उनीहरूको समय सिर्जनात्मक रूपमा उपयोग गर्न, नयाँ सीप सिक्न तथा आफ्ना रुचि र सम्भावनाहरू पहिचान गर्न यो कार्यक्रम उपयोगी हुने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।
मन्त्रालयका अनुसार ‘इन्स्पायर सिरिज’ले विद्यार्थीहरूमा सकारात्मक सोच विकास गर्न, आत्मविश्वास अभिवृद्धि गर्न तथा भविष्यप्रति स्पष्ट दृष्टिकोण बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।