बाजुरामा एकैपटक चारवटा पक्की मोटरेबल पुल निर्माण हुँदै

hitkhabar.com


काठमाडौं । कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत बाजुरा जिल्लामा एकैपटक चारवटा पक्की मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढाइएको छ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कर्णाली करिडोरअन्तर्गत निर्माण हुने चारवटा पुलको ठेक्का सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।

मन्त्री लम्सालका अनुसार बाजुराका दुईवटा गाउँपालिकामा पर्ने चार खोलामा पक्की मोटरेबल पुल निर्माण गर्न लागिएको हो।

निर्माण हुन लागेका पुलहरूमा जगन्नाथ गाउँपालिकाको भुक्का खोला पक्की पुल र सेरा खोला पक्की पुल तथा हिमाली गाउँपालिकाको बादु खोला पक्की पुल र तुसारे खोला पक्की पुल रहेका छन्।

चारवटै पुल निर्माण भएपछि वर्षायाममा खोला तर्नुपर्ने स्थानीयवासीको बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ। त्यस्तै, बाढीका कारण यातायात अवरुद्ध हुने समस्या पनि समाधान हुने विश्वास गरिएको छ।

पुल निर्माणले कर्णाली करिडोरअन्तर्गत बाजुरा क्षेत्रको यातायात आवागमन सहज बनाउनुका साथै स्थानीयवासीको दैनिक जीवन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया