प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद् बैठक आह्वान

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। बैठक बिहीबार साँझ ५ बजे बस्ने तय गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

बैठकमा प्रधान न्यायाधीश सिफारिसलगायत विभिन्न संवैधानिक नियुक्तिसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

यसअघि मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए। उक्त व्यवस्थाअनुसार अब परिषद्को बैठक बस्न चार सदस्य उपस्थित भए पुग्नेछ भने निर्णयका लागि तीन सदस्यको बहुमत पर्याप्त हुने व्यवस्था गरिएको छ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने प्रावधान छ। परिषद्मा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता र प्रधान न्यायाधीश सदस्य रहने व्यवस्था छ।

हाल परिषद्मा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह अध्यक्ष छन् भने सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर, प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल सदस्य रहेका छन्।


प्रतिक्रिया