काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका विकास आयोजनामा देखिएको ढिलासुस्तीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अब क्रान्तिकारी सुधार गरेर द्रुतगतिमा काम अघि बढाउन स्पष्ट निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले 'विकासका लागि हाम्रो केन्द्रित प्रयास भए पनि अपेक्षित प्रगति नहुनु गम्भीर विषय होू' भन्दै समस्याको गहिरो विश्लेषणसहित स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले विशेष गरी सुनकोसी मरिन डाइभर्सन आयोजना जस्तो राष्ट्रिय महत्वका आयोजनाको काम समयमै अगाडि नबढ्नु चिन्ताको विषय भएको भन्दै भने, “ठेक्का समयमा नलग्दा वा काममा ढिलाइ हुँदा जनताले सास्ती खेप्नुपरेको छ, यस्तो प्रवृत्तिबाट परिणाम आउने छैन ।”
उनले मल अनुदानको उदाहरण दिँदै भने, “नीति छ अनुदान दिने, तर मल समयमै पाइँदैन भने त्यो जनतालाई अलमल्याउने काम हो। बरु अनुदान घटाएर आपूर्ति सुनिश्चित गरौँ ।”
प्रधानमन्त्रीले लागत बढ्ने प्रवृत्तिप्रति पनि आक्रोश व्यक्त गरे। “१२ अर्ब लागतको आयोजना ५२ अर्ब पुग्ने स्थिति देखिएको छ। यस्तो लापर्वाही सह्य हुँदैन । दोषीलाई कारबाही गर्ने कि नगर्नेरु” भनी प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले “काम गर्न सम्झौता गरिएकै ठेकेदार वा ढाँचा प्रभावकारी नभए नयाँ विकल्प रोज्नुपर्छ” भन्दै कामको शैलीमै क्रान्तिकारी परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
बैठकमा४.५ घण्टासम्म छलफल
उपप्रधानमन्त्री, विभिन्न मन्त्री, प्रदेशका मुख्यमन्त्री, मुख्य सचिव, सचिव र सम्बन्धित निकायका प्रमुखहरुको सहभागिता रहेको बैठकमा करिब चार घण्टा ३० मिनेटसम्म गम्भीर छलफल भएको थियो ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले समष्टिगत आर्थिक परिसूचक, सरकारको सार्वजनिक वित्त, सामाजिक तथा पूर्वाधार विकास, दिगो विकास लक्ष्य, राष्ट्रिय गौरवका आयोजना, प्राथमिकतामा रहेका आयोजनाहरुको प्रगति लगायत विषयमा विस्तृत प्रस्तुति दिएका थिए ।
प्रधानमन्त्री ओलीले बैठकमा सहभागी सबैलाई योजनाबद्ध, परिणाममुखी र चुस्त शैलीमा काम गर्न निर्देशन दिँदै निष्कर्षमा भने, “अब ढिलो गर्ने समय छैन, देशको विकासलाई गम्भीरतापूर्वक अगाडि बढाउँ ।”