उत्साही रास्वपा

hitkhabar.com


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवलको तुलसीपुर इजलासले रिहा गर्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछानेका सम्बन्धमा यस्तो आदेश आएसँगै रास्वपाका नेतारकार्यकर्ता उत्साहित भएका छन् । 

रास्वपाकी नेता सोविता गौतम सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, ‘प्रतिशोधले धकेलेको कारण अपवादको सिकार बन्नुभएका हाम्रा सभापति अन्ततः थुना मुक्त हुनु (आदेश) भएको छ ।’ उनका नजरमा यो आदेशले पार्टी नै उत्साहित भएको छ । अगाडि लेख्छिन्, ‘आज पार्टी सभापतिज्यू थुनामुक्त हुनुभएको आदेशले उत्साह थपेको छ ।’ 

अदालतको आदेशलगत्तै रास्वपाका नेता÷कार्यकर्ता नख्खु कारागार परिसर पुगे । तर उच्च अदालत बुटवलको तुलसीपुर इजलासले लामिछानेलाई छाड्न आदेश गर्दा पाँचवटा सर्त पनि राखेको छ । सर्त पूरा भएपछि छुट्ने भएकाले बिहीबार नै भने उनी छुटेनन् । 

न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुप्रिम सहकारीको ठगी मुद्दामा लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो । आदेशमा उल्लेख भएको सर्तअनुसार जिल्ला अदालत रूपन्देहीले २०८१ माघ १३ गते थुनछेक क्रममा माग गरेको धरौटी रकम स्वीकार गर्नुपर्नेहुन्छ । त्यतिबेला रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले १ करोड रुपैयाँ धरौटी राख्न आदेश गरेको थियो । अर्को सर्तमा लामिछानेले पेस गरेको बैंक ग्यारेन्टी २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बिगो रकम सुरक्षित गर्न भनिएको छ ।

लामिछाने व्यक्तिगत वा संस्थागत विदेश यात्रा गर्नुपरे अदालतलाई पूर्वजानकारी गराउनुपर्ने तेस्रो सर्त छ । चौथोमा इजलासले जिल्ला अदालत रूपन्देहीले २०८२ साउन २६ गते भएको आदेश पनि बदर गरेको छ । अदालतले यसअघि जमानत लिन अस्वीकार गरेको थियो । पाँचौंमा भने थप दायित्व सिर्जना गरे बुझाउन मञ्जुर भएको कागज गर्नुपर्ने भनिएको छ । यति सर्त पूरा भएपछि थुनामुक्त गर्न आदेश भएको छ । 

सर्त जेजस्ता भए तापनि रवि लामिछाने छुट्ने कुरालाई रास्वपाले उत्साहका रूपमा लिएको छ ।  आगामी प्रतिनिधि सभाको निर्वाचनको तयारीमा होमिइसकेको रास्वपाका नेतारकार्यकर्ता पार्टी सभापति लामिछाने छुट्ने अदालतको आदेशले उत्साही भएका हुन् । उनीहरू राजनीतिक प्रतिशोधले हारेको भनेर खुसी प्रकट गरिरहेका छन् । 

रास्वपाले समानुपातिकतर्फ उम्मेदवार हुन चाहनेसँग आवदेन मागेको छ । समानुपातिकतर्फ उम्मेदवार हुन चाहनेसँग आवदेन दिएकाले यदि प्रत्यक्षतर्फ उम्मेदवार हुन इच्छुक भए परिवर्तन गर्ने अवसर पनि दिएको छ ।

समानुपातिक तर्फको नाम फिर्ता गरी प्रत्यक्षतर्फ आवेदन दिन पुस ५ गतेसम्मका लागि समयावधि तोकिएको छ । परिवर्तन गर्दा शुल्क तिर्नु नपर्ने पार्टी सचिवालय बैठकको निर्णय गरेको छ ।

समानुपातिक तर्फ उम्मेदवारका लागि आवेदन दिने केन्द्रीय समितिका सदस्य समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको छ ।

रास्वपाले चुनाव केन्द्रित अन्य कार्यसमेत गरिरहेको छ । तर पार्टी सभापति रवि लामिछाने जेलमा भएका कारणले पार्टीलाई गति दिन सकस परिरहेको थियो । यसैबेला लामिछानेलाई थुनामुक्त गर्न आदेश भएको हो ।

जेनजी आन्दोलन उत्कर्षमा पुगेका बेला गत भदौ २४ गते लामिछानेलाई समर्थकहरूले नक्खु कारागारबाट बाहिर निकालेका थिए । तर मुद्दा चलिरहेको व्यक्ति अदालतको आदेशबिनै निस्किएको भनेर आलोचना भएपछि उनी २८ भदौमा अदालत फर्किएका थिए । 

अदालत फर्किनु अगाडि सामाजिक सञ्जालमा भिडियो सन्देश राख्दै उनले अघिल्लो सरकारले चरम राजनीतिक प्रतिशोध लिएर आफूलाई दुःख दिएको बताएका थिए । सभापति लामिछानेको त्यसबेलाको अभिव्यक्तिसँग मिल्दोजुल्दो प्रतिक्रिया अहिले पनि रास्वपाका नेता÷कार्यकर्ता दिइरहेका छन् । 

सहकारी ठगीको आरोप लागेपछि भने लामिछाने धेरै समय थुनामै छन् । २०८१ साल कात्तिक दुई गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । त्यसपछि पोखरा कारागार चलान भएका थिए । त्यसपछि लामिछानेको जेल यात्रा सुरु भएको हो । यसबीचमा उनी लामो समय जेलमै रहेका छन् । यो खबर मध्यान्हबाट लिएका हौ ।

प्रतिक्रिया