काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्सको पेरिस प्रस्थान गरेका छन्। बैठकमा मन्त्री पाण्डेले ऐतिहासिक एवं पुरातात्त्विक दृष्टिले महत्वपूर्ण स्थल कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
मन्त्री पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च अधिकारीहरूले बिदाइ गरेका थिए। मन्त्रालयले यो भ्रमण तिलौराकोटलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनुपर्ने दीर्घकालीन प्रयासको महत्वपूर्ण पाइला भएको जनाएको छ।
तिलौराकोट शाक्यवंशीय राजकुमार सिद्धार्थ गौतमले राजकाज त्यागी बुद्धत्व प्राप्तिका लागि प्रस्थान गरेको ऐतिहासिक स्थलका रूपमा चिनिन्छ। यसको ऐतिहासिक र पुरातात्त्विक महत्त्वका कारण स्थानीयस्तरमा लामो समयदेखि यसलाई युनेस्कोको सूचीमा सूचीकृत गर्न माग उठ्दै आएको छ।
यही मागको सन्दर्भमा नेपाल सरकारले सो स्थललाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउने उद्देश्यले अधिकारपूर्वक प्रक्रिया अघि बढाएको जनाइएको छ।
हाल युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीमा २१ सदस्य राष्ट्र छन्। तीमध्ये एसियाबाट भारत, जापान, कोरिया र कतारले प्रतिनिधित्व गरिरहेका छन्। उक्त कमिटीमा बहुमतको आधारमा प्रस्ताव स्वीकृत गर्ने प्रक्रिया हुने भएकाले नेपालले सदस्य राष्ट्रहरूसँग कूटनीतिक पहलमार्फत समर्थन जुटाउने प्रयास गर्ने जनाएको छ।