देशभर माघे संक्रान्ति मनाइँदै

hitkhabar.com


काठमाडौँ । आज माघ महिनाको पहिलो दिन देशभर माघे संक्रान्ति अर्थात् तिला संक्राइत पर्व श्रद्धा, उत्साह र परम्परागत रीतिरिवाजका साथ मनाइँदै छ। यो पर्व भौगोलिक र सांस्कृतिक विविधताअनुसार फरक–फरक नाम र शैलीमा मनाइने गरिन्छ।

पहाडी जिल्लाहरूमा यसलाई माघे संक्रान्ति, थारु समुदायमा माघी तथा मैथिलाञ्चलसहितका मधेशी समुदायमा तिला संक्राइतका रूपमा मनाउने परम्परा रहेको छ।

ज्योतिष शास्त्रअनुसार सौर पात्रोका आधारमा आजकै दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ। सूर्यको उदय बिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले आजदेखि उत्तरायण सुरु हुने विश्वास गरिन्छ।

उत्तरायणको अवधिमा दिन क्रमशः लामो हुँदै जाने, तापक्रममा वृद्धि भई जाडो घट्दै जाने र वसन्ततर्फ मौसम अग्रसर हुने मान्यता छ। यही कारणले माघे संक्रान्तिलाई खगोलीय तथा मौसमी दृष्टिले पनि महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।

यस अवसरमा देशका विभिन्न नदी, पोखरी तथा जलाशयमा स्नान गरी पूजा–आराधना गर्ने चलन छ। स्नानपछि तिलको खिचडी, मुरही, चिउरा, तिलको लड्डु, चाकु, तरुल, सक्खरखण्डलगायत परिकार खाने परम्परा रहेको छ। विशेषगरी तिला संक्राइतका दिन दिउँसो खिचडी र राति मुरही, चिउरा तथा तिलका परिकार खाने प्रचलन रहेको पाइन्छ।

थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षको सुरुआतका रूपमा समेत मनाइन्छ। यस दिन पारिवारिक तथा सामुदायिक भेला, पूजा–आराधना, परम्परागत खानपान र सांस्कृतिक गतिविधि आयोजना गरिन्छ। माघीको अवसरमा विभिन्न स्थानमा महोत्सवसमेत आयोजना गरिँदै आएको छ, जहाँ थारु समुदायको मौलिक पहिरन, संस्कृति र खानाका परिकारहरू प्रदर्शन तथा आदान–प्रदान गरिन्छ।

माघे संक्रान्ति धार्मिक, सांस्कृतिक र सामाजिक एकताको प्रतीक पर्वका रूपमा सबै समुदायले आ–आफ्नो परम्परा अनुसार मनाउँदै आएका छन्।

प्रतिक्रिया