आज देशभर मौसम मुख्यतया सफा रहने

hitkhabar.com


काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ भने केही हिमाली क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागका साथै बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यसैगरी, कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

त्यस्तै, बिहानपख उपत्यका तथा खोँचहरूका साथै तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

महाशाखाले बिहानको समयमा हुस्सु तथा कुहिरोका कारण सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया