काठमाडौं । सर्वोच्च अदालतमा आज (मंगलबार) तीन नवनियुक्त न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सोमबार नियुक्त भएका श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष शपथ लिएका हुन् ।
न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरिएका यी तीन न्यायाधीशलाई नेपालको संविधानको धारा १२९(२) बमोजिम राष्ट्रपतिबाट नियुक्त गरिएको हो ।
शपथ समारोहमा प्रधानन्यायाधीश राउतले नवनियुक्त न्यायाधीशहरू इमान्दारीपूर्वक जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गरे । उनले भने, 'न्यायिक सेवा छिटोछरितो र प्रभावकारी बनाउन सरकारले दिएको दायित्व इमान्दार ढंगले निर्वाह गर्नुपर्छ । अहिले संविधानले व्यवस्था गरेको २१ मध्ये २० जना न्यायाधीश नियुक्त भइसकेका छन् । अब २० जनाले एक साथ काम गर्दा न्याय सम्पादनमा उल्लेखनीय सुधार आउनेछ।'
उनले तीनै न्यायाधीशलाई उर्जावान, सक्षम र जिम्मेवार व्यक्तित्वको रूपमा उल्लेख गर्दै जनताले प्रभावकारी सेवा पाउने अपेक्षा व्यक्त गरे ।