बाढीको सम्भावना : आगामी ३ दिन उच्च सतर्कता अपनाउन इप्पानको आग्रह

hitkhabar.com



काठमाडौं । देशभर आगामी तीन दिन भारी वर्षाका कारण नदीमा बाढी आउने सम्भावना उच्च रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले सबै जलविद्युत आयोजनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले श्रावण ३, ४ र ५ गते देशका विभिन्न भागमा अत्यधिक वर्षा भई प्रमुख नदीहरूमा पानी सतर्कता तह पार गर्न सक्ने पूर्वसूचना जारी गरेपछि इप्पानले प्रेस विज्ञप्ति निकाल्दै पूर्वतयारी गर्न अनुरोध गरेको हो ।

इप्पान र विभागबीच बाढीसम्बन्धी पूर्वसूचना आदानप्रदानको व्यवस्था रहेकोले विभागबाट नियमित जानकारी प्राप्त भइरहेको जनाइएको छ ।

विभागका अनुसार श्रावण ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने सम्भावना छ । यसले कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काई लगायतका नदीहरूमा पानीको बहाव बढाउने देखिएको छ । कोशी नदी सतर्कता तह नजिक वा पार गर्न सक्ने अवस्थामा पुगेको जनाइएको छ ।

मौसमी प्रणाली पश्चिमतर्फ सर्नेक्रममा ४ गते बेलुकादेखि बागमती नदीमा बाढी आउने र काठमाडौं उपत्यकासहित तल्ला तटीय क्षेत्रमा प्रभाव पर्ने सम्भावना रहेको छ । यस्तै, ५ गतेसम्म महाकाली नदी क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।

मध्य नेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही लगायतका जिल्लामा भारी वर्षा हुन सक्ने र यसले नारायणी जलाधार प्रभावित हुन सक्ने इप्पानले जनाएको छ । पश्चिमतर्फ राप्ती, बबई र महाकाली नदी क्षेत्रमा पनि मध्यम देखि उच्च प्रभाव पर्ने सम्भावना रहेको बताइएको छ ।

इप्पानले सबै निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनालाई समयमै पूर्वतयारी गर्न र सम्भावित बाढीको असरबाट जोगिन आवश्यक कदम चाल्न आग्रह गरेको छ । विगतमा बाढी र पहिरोका कारण कर्मचारीहरुको ज्यान जानुका साथै अर्बौंको क्षति भएपछि यसपटक थप सतर्कता अपनाउन भनिएको हो ।

इप्पानले विशेषतः माथिल्लो भेगमा रहेका आयोजनाहरूले बाढी देखिएपछि तल्लो भेगमा रहेका आयोजनाहरुलाई तुरुन्त जानकारी गराउन र विद्युत प्राधिकरणसहित समन्वय गर्न पनि निर्देशन दिएको छ ।

मौसम विभागका गेज स्टेशनमा बसेका कर्मचारीमार्फत प्राप्त हुने बाढीको सूचनालाई आयोजनाका जिम्मेवार व्यक्तिहरूले प्रयोग गरी नदी किनारका स्थानीय बासिन्दासम्म पनि समयमै जानकारी पुर्‍याउनुपर्ने इप्पानको भनाइ छ ।

यदि पूर्वतयारीका बाबजुद कतै मानवीय वा भौतिक क्षति भएमा सोको जानकारी इप्पानमा समेत गराउन विज्ञप्तिमा आग्रह गरिएको छ ।

प्रतिक्रिया