काठमाडौं । राष्ट्रिय सभा सदस्य पदका लागि आज (आइतबार) सातै प्रदेशमा मतदान हुँदै छ। आगामी फागुन २० गते पदावधि सकिन लागेका १९ सदस्यमध्ये १८ पदका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो।
निर्वाचन आयोगका अनुसार प्रदेश राजधानी रहेका जिल्लामा तोकिएका मतदान केन्द्रमा बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ। यस निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष मतदाता रहनेछन्।
आयोगले मतदाताले मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक कागजातका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ। निर्वाचनमा कांग्रेस, एमाले, नेकपा, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा र नेमकिपाले उम्मेदवारी दिएका छन्।
१८ पदका लागि कुल ४४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ तोकिएको छ। बढी मतभार ल्याउने उम्मेदवार निर्वाचित हुने व्यवस्था छ।
राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि समाप्त हुने संवैधानिक व्यवस्था अनुसार यो निर्वाचन हुन लागेको हो।