काठमाडौं । हाल देशभर पश्चिमी न्यून चापिय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेकाले आज पनि मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू-भागसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना तथा हावाहुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यसैगरी, सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रसहित अन्य पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। देशका अधिकांश तराई क्षेत्रहरूमा भने हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ।
त्यसैगरी, अन्य प्रदेशका हिमाली भू-भागका केही स्थान तथा बाँकी पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
मौसमका कारण दैनिक जनजीवन, कृषि तथा यातायात क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सबैलाई अनुरोध गरेका छन्।