एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४७ सम्ममा भारतलाई विकसित राष्ट्रको रूपमा स्थापित गर्ने लक्ष्य सार्वजनिक गरेका छन् । यस उद्देश्यका लागि उनले नयाँ पुस्ताका सुधारहरू सञ्चालन गर्न समर्पित कार्यदल गठन गर्ने घोषणा गरेका छन् ।
लाल किल्लामा आयोजित ७९औं स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “आगामी पुस्ताको सुधारका लागि, हामीले कार्यदल स्थापना गर्ने निर्णय गरेका छौं। यो कार्यदलले निर्धारित समयसीमा भित्र लक्ष्यहरू प्राप्त गर्न र विकसित भारतको दृष्टिकोणलाई साकार पार्न काम गर्नेछ ।”
उनका अनुसार कार्यदलले वर्तमान नियम, कानून, नीति र अभ्यासहरूलाई २१औं शताब्दीअनुकूल बनाउन, विश्वव्यापी वातावरणसँग मेल खाने व्यवस्था गर्न र ‘विकसित भारत २०४७’ को लक्ष्य पूरा गर्न योगदान गर्नेछ ।
प्रधानमन्त्रीले ‘आत्मनिर्भर भारत’ पहल अन्तर्गत स्वदेशी प्रविधिको विकासमा जोड दिँदै युवा, वैज्ञानिक, इन्जिनियर र सरकारी विभागहरूलाई घरेलु अनुसन्धान र आविष्कारमा सक्रिय हुन आग्रह गरे । विशेषगरी रक्षा क्षेत्रमा आत्मनिर्भरताको महत्त्व औंल्याउँदै उनले लडाकु विमानका लागि ‘मेड इन इन्डिया’ जेट इन्जिन निर्माणमा युवा वैज्ञानिकहरूलाई जुट्न आह्वान गरे ।
समारोहमा प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री राजनाथ सिंह, राज्यमन्त्री संजय सेठ तथा भारतीय सेना, वायुसेना र नौसेनाका प्रमुखहरूले स्वागत गरे। कार्यक्रममा भारतीय वायुसेना, सेना, नौसेना र दिल्ली प्रहरीले प्रधानमन्त्रीलाई औपचारिक गार्ड अफ अनर प्रदान गरेको थियो ।