काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् । नेकपा (एमाले)की नेतृ न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार मन्त्रीमा नियुक्त गरेका हुन् ।
न्यौपाने एमाले संसदीय दलको राष्ट्रियसभा प्रमुख सचेतकको भूमिकामा सक्रिय रहिएकी छन् । उनलाई प्रशासन क्षेत्रको जिम्मेवारी दिइएपछि एमाले नेतृत्वको मन्त्रिपरिषदमा महिला प्रतिनिधित्वसमेत थपिएको छ ।
यसअघि सो मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका राजकुमार गुप्ताले मंगलबार नै राजीनामा दिएका थिए । उनले ‘घुस डिल’ अडियो प्रकरणमा नाम जोडिएपछि अनुसन्धानमा सहजता होस् भन्ने हेतुले राजीनामा दिएको दाबी गरेका छन् । “खाएको छैन, खुवाएको छैन, तर विष लागेको छ,” भन्दै उनले आफू निर्दोष रहेको बताउँदै आएका छन् ।
गुप्ताको राजीनामापछि रिक्त रहेको मन्त्रालयमा भगवती न्यौपानेलाई नियुक्त गरिएको हो । सरकारमा महिलाको प्रभावकारी उपस्थिति आवश्यक रहेको चर्चा भइरहेका बेला न्यौपानेको मन्त्री नियुक्तिलाई सन्देशमूलक कदमका रूपमा हेरिएको छ ।