काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका तयारीलाई थप प्रभावकारी बनाउन शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक शुक्रबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने छ।
सरकारले निर्वाचनसम्बन्धी तयारीलाई सुदृढ बनाउने उद्देश्यले प्रमुख राजनीतिक दलका प्रतिनिधिसँगै सुरक्षा निकाय, निर्वाचन आयोग तथा अन्य सरोकारवाला निकायका अधिकारीलाई समेत सहभागी हुन आह्वान गरेको जनाएको छ। हाल निर्वाचनका विविध पक्षबारे निरन्तर छलफल गर्दै आएको सरकारले आगामी निर्वाचनलाई सहज र व्यवस्थित बनाउने प्रयास तीव्र पारेको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको विस्तृत कार्यतालिका सार्वजनिक गरिसकेपछि कांग्रेस, एमाले, नेकपा, रास्वपा तथा साना दललगायतले चुनावमुखी गतिविधि तीव्र पारेका छन्। आगामी निर्वाचनलाई व्यवस्थित र विश्वसनीय बनाउने विषय बैठकको मुख्य एजेन्डा रहने बताइएको छ।